नयाँ दिल्ली । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । यसै वर्षको जनवरीमा कोभिड–१९ बाट संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा थिइन् । उपचारका क्रममा नै आइतबार बिहान उनको निधन भएको हो ।
मंगेशकरको जन्म सन् १९२९ मा भएको थियो र उनले आफ्नो बुबा दीनानाथको तालिममा प्रारम्भिक रूपमा आफ्नो सांगीतिक यात्रा सुरु गरेकी थिइन् । लताले पाँच वर्षको उमेरबाट नै आफ्ना बुवाबाट सांगीतिक तालिम सुरु गरेकी थिइन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै मंगेशकरको निधनले देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको बताएका छन् । मोदीले मंगेशकरका गीतहरूले विभिन्न खाले भावनाहरू प्रवाह गरेको र उनले दशकौँसम्म भारतीय चलचित्र जगतलाई नजिकबाट नियालेको बताएका छन् ।
लता १३ वर्षको हुँदा बुबाको मृत्यु भएको थियो । त्यसपछि चार साना भाइबहिनीको लालनपालनको समेत भूमिका खेल्न बाध्य तुल्यायो र अन्ततः १९४५ मा उनको परिवार मुम्बईमा बसाई सार्नु पर्यो । सन् १९६२ मा भारत–चीन युद्धमा मारिएका सैनिकहरूलाई देशभक्तिपूर्ण श्रद्धाञ्जली गाउन सन् १९६३ जनवरीमा भारतको गणतन्त्र दिवस समारोहमा सरकारद्वारा उनलाई निमन्त्रणा गरिएको थियो । उनले ओ द पिपल अफ माइ कन्ट्रीको प्रस्तुतिले तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू आँशु झारेका थिए ।
उनले भक्ति र शास्त्रीय एल्बमहरू रेकर्ड गर्नुका साथै एक हजार भन्दा बढी चलचित्रमा गीत गाएकी छिन् । आधा शताब्दी लामो असाधारण सांगीतिक यात्राका क्रममा उनले ३६ भाषामा २७ हजार भन्दा बढी गीत गाएकी छिन् ।
सन् २००१ मा उनले भारतमा नागरिकहरूले पाउने सबैभन्दा उच्च तहको सम्मान भारत रत्न प्राप्त गरेकी थिइन् । सन् २००४ मा उनको उमेर ७५ वर्ष पुग्दा बलिउडका प्रसिद्ध निर्देशकमध्ये एक यश चोपडाले ‘मैले उहाँको आवाजमा भगवानको आशीर्वाद देखेँ भनेर लेख्नुभएको थियो ।’ मंगेशकरले विवाह भने गरिनन् । उनकी बहिनी आशा भोसले पनि चर्चित बलिउड गायिका छिन् । लताले नेपाली भाषामा पनि गीत गाएकी छिन् । रासस-एएफपी