काठमाडौं, माघ २४
माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडको एक औपचारिक कार्यक्रमबीच उद्घाटन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले क्यापिटलको संयुक्तरूपमा उद्घाटन गरेका हुुन् । उक्त समारोहमा बोर्डका अध्यक्ष ढुंगानाले माछापुच्छ्रे क्यापिटल लिमिटेडले देशको खुम्चिएको पुँजीबजार क्षेत्रको विकास गर्न तथा नयाँ क्षेत्रहरूको पहिचान गरी नयाँ कार्यक्रमहरू बजारमा ल्याउन सफल होस् भन्ने शुभकामना व्यक्त गरे ।
साथै, पुँजीबजार क्षेत्रमा नवीनता ल्याउन जरुरी भएको परिप्रेक्ष्यमा यस क्यापिटलले थप व्यावसायिकता र थप नयाँ कार्यशैलीसहित मर्चेन्ट बैंकिङ क्षेत्रमा प्रवेश गर्नेछ भन्ने विश्वास लिएको जानकारी गराए । त्यस्तै, माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले माछापुच्छ्रे क्यापिटललाई व्यावसायिक शुभारम्भको अवसरमा बधाई दिए । क्यापिटलले आफ्नो व्यवसाय विस्तारको क्रममा राजधानीभित्र मात्र नभई देशभरि रहेका लगानीकर्ताहरूलाई सेवा पु-याउनुपर्नेमा जोड दिँदै अन्य सेवाको रूपमा क्यापिटललाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त समारोह माछापुच्छ्रे क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाको सभापतित्वमा सन्पन्न भएको थियो ।