काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो ।
कम्पनीले ल्याएको जीवन आवरण बीमा योजनामा बीमा गर्नेहरूको लागि विविध सुविधाहरू उपलब्ध रहेका छन् । बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जीवित रहेमा बीमांक रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतिले मृत्यु भएमा थप बीमांक रकम अर्थात् दुई गुणा बीमांक रकम र बोनस उपलब्ध हुने व्यवस्था रहेको छ । यसैगरी दुर्घटनाबाट मृत्यु भएमा बीमांक रकमको दुई गुणा बीमांक रकम, अतिरिक्त दुर्घटना लाभबापत एक करोडसम्म र बोनस रकम उपलब्ध हुनेछ ।
उक्त योजना लिन चाहनेहरूले न्यूनतम एक लाख रुपैयाँदेखि आयस्रोतको आधारमा चाहेअनुसार बीमांक रकमको बीमा गर्नसक्ने व्यवस्था रहेको छ । साथै न्यूनतम सात वर्षदेखि अधिकतम २५ वर्षसम्मको अवधि कायम गरी बीमा गर्नसक्ने कम्पनीले जनाएको छ । यस बीमा योजनाअन्तर्गत स्थायी अंगभंग सुविधा समेत उपलब्ध हुनेछ । उक्त बीमा योजना लिएका बीमितहरूले बीमालेखअन्तर्गत ऋण तथा सम्पूर्ण सुविधा प्राप्त गर्नसक्ने व्यवस्था रहेको छ ।
कम्पनीले प्रचलनमा ल्याएको उक्त बीमा योजनामा भएका प्रावधानहरूबाट बीमा गर्ने व्यक्तिहरूले अधिक लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बताए ।