काठमाडौं । श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्दै योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्न योगदानमा आधारित सामाजिक सुरक्षा (कोष) कार्यक्रममा योगदानकर्ता र योगदान रकम संकलन वृद्धि हुँदै गएको छ । योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु मुख्य उद्देश्य रहेको कोषमा योगदानकर्ता सूचीकृत, योगदान रकम संकलन तथा दाबी रकममा वृद्धि भएको जनाएको छ ।
कोषका अनुसार चालू आर्थिक वर्षको माघ अन्तिम सातासम्ममा १६ हजार पाँच सय २९ जना रोजगारदाता तथा तीन लाख १२ हजार छ सय ११ जना योगदानकर्ता सूचीकृत भएका छन् । उक्त अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ संकलन भएको छ भने ७१ करोड ४२ लाख रुपैयाँ दाबी भुक्तानी रकम छ । त्यस्तै नौ करोड ८७ लाख रुपैयाँ औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम, ९६ लाख दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम, एक करोड नौ लाख रुपैयाँ आश्रित परिवार सुरक्षा दाबी रकम र ५८ करोड छ लाख रुपैयाँ अवकाश दाबी रकम छ ।
कोषका पदाधिकारीहरुले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सामाजिक सुरक्षा सूचना प्रणाली (एसओएसवाईएस) सफ्टवेयर तयारी गरी कार्यान्वयनमा ल्याएका थिए । आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ को फागुनसम्ममा कुल १३ हजार पाँच सय २६ जना रोजगारदाता र एक लाख ९३ हजार ७२ जना श्रमिक कोषमा आबद्ध भएका छन् । संख्याको हिसाबले बागमती प्रदेशमा बढी र कर्णाली प्रदेशमा न्यून रोजगारदाता तथा योगदानकर्ता सूचीकृत भएका छन् । उक्त अवधिमा बागमती प्रदेशमा नौ हजार एक सय ३२ जना, प्रदेश नम्बर १ मा एक हजार आठ सय ६० जना, लुम्बिनी प्रदेशमा एक हजार ७१ जना, गण्डकीमा छ सय १४ जना, प्रदेशमा नम्बर २ मा पाँच सय ४९ जना, सुदूरपश्चिममा एक सय ५९ जना र कर्णालीमा एक सय ४१ जना रोजगारदाता सूचीकृत भएका छन् ।
सोही अवधिमा बागमती प्रदेशमा एक लाख ४४ हजार छ सय ५३ जना, प्रदेश नम्बर १ मा १९ हजार आठ सय ५८ जना, प्रदेश नम्बर २ मा १३ हजार सात सय ७५ जना, गण्डकीमा सात हजार एक सय ३५ जना, लुम्बिनी प्रदेशमा छ हजार चार सय ८१ जना, सुदूरपश्चिममा सात सय चार जना र कर्णालीमा चार सय ६६ जना योगदानकर्ता सूचीकृत भएका छन् ।
२०७६ साउन १ गतेदेखि कोषमा योगदान रकम संकलन सुरु गरिएकोमा हालसम्म अर्बौँ रकम संकलन हुनुले गर्दा यसको कार्यान्वयन सफलतातर्फ अघि बढेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कोषले कार्य गर्दै आएको छ । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा नौ दुई सय दुई जना रोजगारदाता र एक लाख ३२ हजार सात सय २२ जना योगदानकर्ता सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा तीन हजार दुई सय ६१ जना रोजगारदाता र २४ हजार तीन सय ३० जना योगदानकर्ता सूचीकृत भएका छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ । कोषमा आर्थिक वर्ष २०७६/०७७ मा एक अर्ब ६१ करोड ६४ लाख १८ हजार रुपैयाँ योगदान रकम संकलन भएको थियो भने आर्थिक वर्ष २०७७/०७८ को फागुनसम्ममा तीन अर्ब चार करोड ४५ लाख रुपैयाँ संकलन भएको थियो । आर्थिक वर्ष २०७७/०७८ को फागुनसम्ममा एक हजार ८३ जना रोजगारदाता तथा ३६ हजार २० जना योगदानकर्ता सूचीकृत भएका थिए ।
सामाजिक सुरक्षा ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्न सक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको छ । ऐनमा उल्लिखित सामाजिक सुरक्षा योजना सञ्चालन गर्नका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा आएको छ । सोहीअनुरुप कोषले रोजगारदाता तथा योगदानकर्तामार्फत रकम संकलन तथा वितरण गर्दै आएको छ ।