काठमाडौं । मुुलुकको निर्यात व्यापारमा सुधार देखिए पनि आयात उच्च हुँदा वैदेशिक व्यापारघाटा बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी छ महिनाको प्रतिवेदनअनुसार निर्यात बढेसँगै आयात पनि उच्चरुपमा बढ्दा व्यापारघाटा पनि बढेको हो ।
प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको छ महिनामा कुल वस्तु निर्यात ९५ दशमलव पाँच प्रतिशतले बढेर एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात छ दशमलव एक प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय २१ दशमलव आठ प्रतिशत र ३० दशमलव दुई प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १० दशमलव दुई प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, जुस, ऊनी गलैँचालगायतका वस्तुको निर्यात बढे पनि अलैँची, चिया, जडीबुटी, जस्तापाता, तारलगायतका वस्तुको निर्यात भने घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको छ महिनामा कुल वस्तु आयात ५१ दशमलव एक प्रतिशतले वृद्धि भई नौ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात चार दशमलव आठ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३७ दशमलव पाँच प्रतिशत, ५१ दशमलव पाँच प्रतिशत र ९८ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेललगायतका वस्तुको आयात बढे पनि एमएस बिलेट, सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशकलगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार निर्याततर्फ कञ्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात भने बढेको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको छ महिनामा कुल वस्तु व्यापारघाटा ४६ दशमलव छ प्रतिशतले बढेर आठ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा पाँच दशमलव आठ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११ दशमलव नौ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव दुई प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।
चालू आर्थिक वर्षको छ महिनामा परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब १० अर्ब ९१ करोडबराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८३ अर्ब एक करोडबराबरको भएको प्रतिवेदनमा उल्लेख छ ।
कुल विदेशी मुद्रा सञ्चितिमा १६ प्रतिशतले गिरावट
विदेशी मुुद्राको सञ्चितिमा गिरावट आएको छ । राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव सात प्रतिशतले कमी आई २०७८ पुस मसान्तमा ११ खर्ब ६५ अर्ब ८० करोड कायम भएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ पुस मसान्तमा १५ दशमलव नौ प्रतिशतले कमी आई नौ अर्ब ८९ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ पुस मसान्तमा १८ दशमलव चार प्रतिशतले कमी आई १० खर्ब १५ अर्ब ५९ करोड कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ पुस मसान्तमा दुई दशमलव सात प्रतिशतले कमी आई एक खर्ब ५० अर्ब २१ करोड कायम भएको छ । २०७८ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव चार प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
छ महिनामा भित्रियो चार खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ विप्रेषण
वैदेशिक रोजगारीबाट प्राप्त आय विप्रेषण आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाहमा पाँच दशमलव पाँच प्रतिशतले घटेर चार खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव एक प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह छ दशमलव दुई प्रतिशतले कमी आई तीन अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव सात प्रतिशतले बढेकोे राष्ट्र बैंकको भनाइ छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई एक लाख ६७ हजार पाँच सय १३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा दुई सय ९८ दशमलव एक प्रतिशतले वृद्धि भई एक लाख ३० हजार दुई सय १२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५ दशमलव पाँच प्रतिशतले घटेको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर चार दशमलव नौ प्रतिशतले कमी आई पाँच खर्ब २३ अर्ब एक करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर आठ दशमलव नौ प्रतिशतले बढेको थियो ।
खुद सेवा आय ४६ अर्ब रुपैयाँले घाटामा
खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले बुुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी छ महिनाको प्रतिवेदनअनुसार खुद सेवा आय ४६ अर्ब १७ करोड रुपैयाँले घाटामा देखिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २८ अर्ब ५२ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय दुई सय पाँच दशमलव सात प्रतिशतले वृद्धि भई १० अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय तीन अर्ब ३३ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९५ दशमलव आठ प्रतिशतले वृद्धि भई २९ अर्ब ७२ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १७ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १५ अर्ब १८ करोड रहेकोमा शिक्षातर्फको व्यय १२ अर्ब ७६ करोेड रहेको प्रतिवेदनमा उल्लेख छ ।
चालू खाता तीन खर्ब ५४ अर्ब रुपैयाँले घाटामा
चालू खाता घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको छ महिनामा चालू खाता तीन खर्ब ५४ अर्ब सात करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५१ अर्ब ६८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा दुई अर्ब ९७ करोडले घाटामा रहेको छ ।
राष्ट्र बैंकका अनुसार पुँजीगत ट्रान्सफर २० प्रतिशतले कमी आई पाँच अर्ब ४८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ दशमलव एक प्रतिशतले वृद्धि भई ११ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर छ अर्ब ८५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी सात अर्ब ६६ करोड रहेको थियो ।
चालू आवको छ महिनामा शोधनान्तर स्थिति दुई खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब दुई करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । (आर्थिक दैनिकबाट)