काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी अम्बिका बुढाथोकीलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार बैंकिङ कसुुरको अभियोगमा फरार रहेकी ४१ वर्षीया बुढाथोकीलाई ललितपुरको भैंसीपाटीबाट पक्राउ गरिएको हो । उनी काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ३, धनेश्वर निवासी हुन् ।
सीआईबीका अनुसार २०७६ भदौ २० गते नुवाकोटको विदुर नगरपालिका वडा नं. ११ स्थायी घर भई काठमाडौं टोखामा बस्ने बुढाथोकीले सिद्धार्थ बैंक लिमिटेड, शाखा कार्यालय, धनेश्वर, काठमाडौंमा रहेको आफ्नो नामको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएकी थिइन् ।
सो पश्चात् उक्त चेकबाट रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट वि.सं. २०७८ कात्तिक २३ गते प्रतिवादी बुढाथोकीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा १७ लाख ४२ हजार आठ सय ७७ रुपैयाँ जरिवाना र छ दिन कैद हुने फैसला भएको थियो ।
अदालतको उक्त फैसला लगत्तै फरार रहेकी बुढाथोकीलाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले ललितपुरको भैंसीपाटीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरेको जानकारी दिएको छ ।