काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपालको अर्थतन्त्र र जीविकामा निकै महत्व राख्ने विप्रेषण बढाउन प्रणालीगत सुधार आवश्यक रहेको बताएका छन् । वैदेशिक रोजगारीमा जाने श्रमिक आपूर्तिको क्रममा रहेको लामो प्रक्रियाका कारण वैदेशिक रोजगारीलाई बढी लाभयुक्त बनाउन नसकिएको उनले बताए ।
मन्त्रालयमा बिहीबार आयोजित विकास समस्या समाधान समितिको बैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र बढी लाभयुक्त बनाउन सरकार लागिपरेको उल्लेख गरे । विकसित मुलुकहरुमा श्रम बजारको खोजी गरी सुरक्षित र लाभयुक्त वैदेशिक रोजगारीको अवसर वृद्धि गर्नुपर्ने उनको भनाइ छ । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकहरुको माग र आवश्यकताअनुरुप नेपाली श्रमिकको सीप विकास गर्नसके विप्रेषण दोब्बरले बढाउन सकिने बताए । यस्तै वैदेशिक रोजगारीबाट फर्केका जनशक्तिको पुँजी, सीप, दक्षता र अनुभवलाई उपयोग गर्नुपर्नेमा समेत उनले जोड दिए । रोजगारीको ग्यारेन्टीसहित सीप विकास कार्यक्रम सातवटै प्रदेशमा विस्तार गर्ने आफ्नो योजना रहेको मन्त्री श्रेष्ठले बताए ।
उनले मन्त्रालयअन्तर्गतका आयोजनाहरुको भौतिक तथा वित्तीय प्रगतिमा सुधार गर्न गम्भीर भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिए । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयालले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउने र उत्पादनमूलक लगानीमा प्रोत्साहन गर्नुपर्ने बताए । मन्त्रालयका सचिव एकनारायण अर्यालले नियमित अनुगमन, गुनासा सुनुवाइ, उद्धार कार्यलाई प्रभावकारी बनाइएको बताए । सो क्रममा दोस्रो चौमासिकसम्म कल सेन्टर, हेलो सरकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका गुनासो तथा उजुरीमध्ये ९७ दशमलव आठ प्रतिशत फछ्र्यौट गरिएको र दुई दशमलव दुई प्रतिशत फछ्र्यौटको प्रक्रियामा रहेको जानकारी दिइएको थियो ।