काठमाडौं, माघ २४
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सिभिल बैंकको धार्चे शाखाको उद्घाटन गरेका छन् । बैंकका अनुसार यही माघ १७ गते डा. नेपालले गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिलको धार्चे शाखाको उद्घाटन गरेका हुुन् ।
उद्घाटनका अवसरमा गभर्नर डा. नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने उल्लेख गर्दै मुलुकका दुर्गम स्थानसम्म वित्तीय पहुँच पु-याउने लक्ष्यलाई सहयोग पुग्नेगरी राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको जानकारी दिए । मुलुकका सात सय ५३ वटै स्थानीय तहमा वित्तीय पहुँच पु-याउने राष्ट्र बैंकको नीतिगत अभियानमा सिभिल बैंकको धार्चे शाखाले अर्को इँटा थपेको उल्लेख गर्दै उनले भने, ‘सिभिल बैंकले गोरखाको विकट ठाउँमा वित्तीय सेवा विस्तार गरेकोमा म एकदमै खुशी छु ।’ यसरी ग्रामीण भेगमा बैंकको शाखा विस्तारले वित्तीय पहुँच र वित्तीय साक्षरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विचार गभर्नर डा. नेपालले राखे । ‘वित्तीय सेवाको पहुँच यसरी नै विस्तार हुँदै जाँदा त्यसले मुलुकको आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउनेछ ।’ उनले भने ।
उद्घाटन समारोहमा धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले धार्चेजस्तो दुर्गम ठाउँमा बैंकले शाखा स्थापना गरेकोमा खुशी व्यक्त गर्दै उक्त शाखाले धार्चे गाउँपालिकाका जनताको घरदैलोसम्म वित्तीय सेवा उपलब्ध गराई स्थानीय जनतामा उद्यमशीलताको विकास र जीवनस्तर उकास्नमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले धार्चे शाखाले यस क्षेत्रमा प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराई उद्यम, व्यवसायको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले ग्रामीण अर्थतन्त्र उकास्नका निम्ति कृषि, पशुपालन, पर्यटनलगायतका क्षेत्रमा लगानी बढाउँदै ‘समृद्ध धार्चे’को सपना साकार बनाउने लक्ष्यका साथ सहकार्य गरेर अघि बढ्ने उद्घोष गरे । उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मी, गभर्नरको कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिला, धार्चे गाउँपालिकाका प्रशासकीय अधिकृत विश्वविजय शर्मालगायत
स्थानीय राजनीतिकर्मी, उद्योगी, व्यवसायीलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । सिभिल बैंकमा हालसम्म चार लाख १५ हजारभन्दा बढी ग्राहकहरू आबद्ध छन् । यस बैंकले ५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ५० अर्बभन्दा बढी कर्जा लगानी गरेको छ । धार्चे शाखाको स्थापनासँगै सिभिल बैंकको गण्डकी प्रदेशमा १२ सहित नेपाल भर कुल शाखा संख्या एक सय तीन पुगेकोे छ ।