काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले भ्यालेन्टाइन्स डेको विशेष अवसरमा बैंकका ग्राहकहरूलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीहरूमा १५ प्रतिशतसम्म क्यास ब्याक प्रदान गर्ने भएको छ । बैंकका ग्राहकहरूले भ्यालेन्टाइन्स डेको अवसर पारेर आफ्ना प्रिय पात्रहरूसँग माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फागुन १ तथा २ गते सरसामान खरिद गर्दा ‘मेरी उनीलाई’ लेखी क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई सय रुपैयाँसम्म क्यास ब्याक पाउनेछन् ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा बैंकको दुई सय ८७ शाखा, दुई सय ५२ एटीएम, दुई सय ६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय ५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको जानकारी दिएको छ ।