काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । एनआरएनए निर्वाचन समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यतालिकाअनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद्को स्थगित निर्वाचन आगामी मार्च २१ र २२ अर्थात् चैत ७ र ८ गते हुनेभएको छ । यस्तै फेब्रुअरी १७ देखि २२ सम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन, फेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, २४ देखि २७ सम्म मतदाता नामावलीमाथि दाबी विरोध, मार्च २ मा दाबी विरोधमाथि निर्णय, मार्च ३ मा अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ । मार्च ४ र ५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, मार्च ६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, मार्च ६ देखि ७ सम्म उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोध, मार्च ८ मा उम्मेदवारको मनोनयपत्रको जाँच र उजुरीमाथि निर्णय र मार्च ९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।
यसैगरी मार्च ११ मा उम्मेदवारले मनोनय फिर्ता, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मार्च २१ तारिख बिहान १० बजेदेखि २२ तारिख बिहान ९ः५९ सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान समाप्त भएलगत्तै मतगणना गर्ने प्रमुख निर्वाचन अधिकृत भीमसेन बञ्जराले जानकारी दिए । संघको अध्यक्षका लागि मनोनयन पत्र दर्ता दस्तुर १० लाख रूपैयाँ तोकिएको छ ।
निर्वाचित पदाधिकारी तथा सदस्यले मनोनयन दस्तुर सपथ ग्रहण अगाडि बुझाउनुपर्नेछ । एक अध्यक्ष, चार उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक युवा उपाध्यक्ष, एक महासचिव, एक सचिव, तीन महिला सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष र एक महिला सहकोषाध्यक्ष गरी विभिन्न ५३ पदका लागि निर्वाचन हुनेछ । अन्तर्राष्ट्रिय समन्वय परिषद्मा एक महिला संयोजक, एक युवा संयोजक, छ क्षेत्रीय संयोजक, छ क्षेत्रीय उपसंयोजक, छ क्षेत्रीय महिला संयोजक, छ क्षेत्रीय महिला उपसंयोजक र छ क्षेत्रीय युवा उपसंयोजकका लागि निर्वाचन हुने समितिले जनाएको छ ।
एनआरएनए निर्वाचनका लागि संघले अधिवक्ता भीमसेन बञ्जराको संयोजकत्वमा सचिव भूषण घिमिरे (जापान) तथा रामप्रताप थापा (जर्मनी), चिरञ्जीवी ढकाल (बेलायत) र डा. विष्णुमाया परियार (अमेरिका) सदस्य रहेको निर्वाचन समिति गठन गरिसकेको छ ।