नयाँ दिल्ली । दिग्गज गायक–संगीतकार बप्पी लाहिरी मंगलबार राति निधन भएको छ । प्रख्यात अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले उहाँको निधनमा ट्विटरमर्फत शोक व्यक्त गरेकी छिन् । मंगलबार राति ११ः४५ मा निधन भएका चर्चित गायक तथा संगीतकार बप्पी लाहिरीप्रति राजनीतिक क्षेत्रका नेताहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बप्पी लाहिरीलाई बप्पी दा भनेर चिनिन्थ्यो । उनी डिस्को संगीतको लागि प्रख्यात थिए । बप्पी लाहिरीको ६९ वर्षको उमेरमा मंगलबार राति मुम्बईको एक अस्पतालमा निधन भएको थियो । पश्चिम बंगालका गभर्नर जगदीप धनखरले बप्पी दाको मनमोहक सांगीतिक रचनाहरू सबैले मन पराएका बताएका छन् । ‘दुःखको खबर – प्रसिद्ध संगीतकार बप्पी लाहिरीजी अब रहनु भएन’, उनले भनेका छन् ।
‘पश्चिम बंगालको जलपाईगुडीमा जन्मिएका बप्पी दाको संगीतले सम्पूर्ण फ्यानहरूलाई छक्क पारेको थियो । उनलाई सबै उमेरका मानिसहरूले मन पराउने मंत्रमुग्ध सांगीतिक रचनाहरूको लागि सम्झिरहनेछ । परिवारजनमा समवेदना र ओम शान्ति ओम’, उनले ट्विट गरेका छन् ।
विभिन्न स्वास्थ्य समस्याका कारण एक महिनादेखि अस्पतालमा भर्ना भएका बप्पी दाको ‘स्लीप एपनिया’ का कारण निधन भएको बताइएको छ ।‘डिस्को किङ’ बप्पी दाको बिहीबार अन्त्येष्टि गरिने जनाइएको छ । रासस/एएनआई