काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच वर्षे अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बिक्री आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार फागुन ८ गते अर्थात् आज आइतबार अपराह्न ३ बजेसम्ममा बोलकबोलको माध्यमद्वारा विकास ऋणपत्र २०८३ ‘च’ (पाँचवर्षे) बिक्री गर्न लागिएको हो ।
सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा निष्काशन गरिएको ऋणपत्रको निष्काशन मिति फागुन ९ गते तोकिएको छ भने ऋणपत्रको परिपक्व हुुने अर्थात् सावाँ भुक्तानी हुने मिति २०८३ फागुन ९ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी भएर उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था छ ।
खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्नसक्ने व्यवस्था तोकिएको छ । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन पाउने व्यवस्था छ । यस बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्र्धीको रुपमा भाग लिन पाउनेछैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षमा सरकारको लागि दुुई खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना अघि सारेको छ । सोहीअनुुरुप चालू आवको लागि उठाइने आन्तरिक ऋणको लागि राष्ट्र बैंकले अल्पकालीन तथा दीर्घकालीन अवधिका टे«जरी बिलहरु, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायतका मौद्रिक उपकरणहरु बिक्री गर्ने तयारी गरेको छ । यसअन्तर्गत दोस्रो त्रैमासिकमा छ अर्ब, तेस्रो त्रैमासिकमा एक खर्ब ५० करोड र चौथो त्रैमासिकमा एक खर्ब ३२ अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाइने योजना राष्ट्र बैंकको छ ।
सोअनुरुप चालू आर्थिक वर्षमा राष्ट्र बैंकले २८ दिने, ९१ दिने, एक सय ८२ दिने र तीन सय दिने समेत गरी कुुल एक खर्ब ५० करोड रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गर्नेछ । जसमध्ये दोस्रो त्रैमासिकमा छ अर्ब, तेस्रो त्रैमासिकमा ४४ अर्ब र चौथो त्रैमासिकमा ५५ अर्ब रुपैयाँबराबरको टे«जरी बिल बिक्री गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । विकास ऋणपत्रतर्फ भने दुई वर्षे, चार वर्षे, पाँच वर्षे र छ वर्षे समेत गरी कुल एक खर्ब २९ अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाइनेछ । सोमध्ये तेस्रो त्रैमासिकमा ५४ अर्ब ५० करोड र चौथो त्रैमासिकमा ७५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने राष्ट्र बैंकको भनाइ छ । यीबाहेक आगामी असार मसान्तसम्ममा चार अर्ब रुपैयाँ बराबरको पाँच वर्षे अवधिको नागरिक बचतपत्र बिक्री गर्ने तयारी पनि राष्ट्र बैंकले गरेको छ । जसअन्तर्गत तेस्रो त्रैमासिकमा दुई अर्ब र चौथो त्रैमासिकमा दुई अर्ब रुपैयाँको बचतपत्र बिक्री गरिनेछ । लक्ष्यअनुरुपको आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले चालू आवको चौथो त्रैमासिकमा ५० करोड रुपैयाँबराबरको पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र पनि बिक्री गर्नेछ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको लागि उठाइने कुल आन्तरिक ऋणमा ट्रेजरी बिलको अंश ४३ दशमलव नौ प्रतिशत, विकास ऋणपत्रको अंश ५४ दशमलव दुई प्रतिशत, नागरिक बचतपत्रको अंश एक दशमलव ६७ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको अंश शून्य दशमलव २१ प्रतिशत छ ।