काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता बढेको छ । गत आर्थिक वर्ष २०७७-०७८ को सात महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८/०७९ को सात महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा ३० प्रतिशत अर्थात् सात अर्ब ३० करोड सात लाख रुपैयाँले बढेको छ ।
चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा ३१ अर्ब ५३ करोड ९२ लाख रुपैयाँ र गत आर्थिक वर्षको उक्त अवधिमा २४ अर्ब २३ करोड ८५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका उद्योग विभागमा दर्ता हुन्छन् । सोहीअनुरुप चालू आर्थिक वर्षको समीक्षा अवधिमा आठ हजार चार सय ४५ जनालाई रोजगारीसहित एक सय ३६ वटा उद्योग दर्ता भएका छन् ।
चालू आर्थिक वर्षको समीक्षा अवधिमा सबैभन्दा बढी सेवा र सबैभन्दा कम ऊर्जा उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सेवामा १६ अर्ब ६९ करोड ५० लाख रुपैयाँ र ऊर्जामा १० करोड ६२ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । यस्तै अन्य उद्योगहरुमा पर्यटनमा १० अर्ब २१ करोड ४० लाख रुपैयाँ, उत्पादनमूलकमा तीन अर्ब ४७ करोड ४० लाख रुपैयाँ, कृषि तथा वनजन्यमा ६० करोड रुपैयाँ, सूचना प्रविधिमा ४५ करोड रुपैयाँ र ऊर्जामा १० करोड ६२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । समीक्षा अवधिमा दर्ता भएका उद्योगहरुको तुलना गर्दा घटबढ भएको देखिन्छ । हालको अवस्थामा विदेशी लगानी प्रतिबद्धता बढ्नुलाई सुखद मान्न सकिने विभागका अधिकारीहरुको भनाइ छ ।
यसैबीच गत आर्थिक वर्षको समीक्षा अवधिमा उत्साहजनक लगानी आउने वातावरण नभए पनि निरन्तर लगानी भने आएको देखिन्छ । गत आर्थिक वर्षको समीक्षा अवधिमा तीन हजार सात सय ८८ जनालाई रोजगारीसहित एक सय २३ वटा उद्योग विभागमा दर्ता भएका छन् । गत आर्थिक वर्षमा सबैभन्दा धेरै पर्यटनमा र सबैभन्दा कम सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित उद्योगमा लगानी प्रतिबद्धता आएको थियो ।
समीक्षा अवधिमा पर्यटनमा १५ अर्ब १८ करोड ८५ लाख रुपैयाँ, सेवामा पाँच अर्ब २१ करोड रुपैयाँ, उत्पादनमा दुई अर्ब ५९ करोड रुपैयाँ, सूचना, सञ्चार तथा प्रसारणमा ४५ करोड रुपैयाँ र कृषि तथा वनजन्यमा पनि ४० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । गत आर्थिक वर्षमा ऊर्जामा भने लगानी आउन सकेन ।
समीक्षा अवधिमा सबैभन्दा बढी चीन, स्पेन, सिंगापुर, भारत, अमेरिका, अष्ट्रेलिया, ताइवानलगायत १५ मुलुकबाट लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । चीनबाट २३ अर्ब ८२ करोड ५५ लाख रुपैयाँ, स्पेनबाट चार अर्ब ८५ करोड रुपैयाँ, सिंगापुरबाट एक अर्ब रुपैयाँ, भारतबाट ६२ करोड ७५ लाख रुपैयाँ, अमेरिकाबाट ३५ करोड रुपैयाँ, अष्ट्रेलियाबाट ३० करोड रुपैयाँ, ताइवानबाट १२ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । चीनले एक सय १३ वटा, भारतले पाँच वटा र स्पेन, सिंगापुर, अमेरिका, अष्ट्रेलियाले एउटा उद्योग खोल्नका लागि उक्त लगानी प्रतिबद्धता जनाएका हुन् ।
औद्योगिक व्यवसाय ऐन २०७५ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला उद्योग विभागले दर्ता गर्छ । त्यस्तै, नेपालमा विदेशी लगानीकर्ताले लगानी गर्दा पुँजीको न्यूनतम सीमा पाँच करोड रुपैयाँ कायम गरिएको छ भने माथिल्लो सीमा भने तोकिएको छैन ।
विदेशी लगानीको स्वीकृति प्रक्रियालाई सरल बनाउन र लगानीको सुरक्षालाई थप विश्वस्त बनाउन विविध नीतिगत व्यवस्थाको क्रममा प्रत्यक्ष विदेशी लगानी तयार गरेको पाइन्छ । जसले विदेशी लगानीकर्तालाई नेपालमा लगानी बनाउन सहज बनाएको पाइन्छ । प्रत्यक्ष विदेशी लगानी ऐन, २०७५, नियमावली २०७७, औद्योगिक व्यवसाय ऐन, २०७६ र नियमावली २०७६, विदेशी विनिमय गर्ने ऐन, २०१९ र नियमावलीलगायतका अन्य विभिन्न क्षेत्रगत ऐनहरुमार्फत विदेशी लगानी नेपालमा भित्र्याउन सहजीकरण गरिएको छ ।