दोलखा । विगत छ वर्षदेखि अलपत्र बनेको मुडे–चरीकोट सडकखण्डको निर्माणको काम सुचारु भएको छ । २०७२ साल निर्माण कम्पनीले यो सडक भत्काएर अलपत्र बनाएको थियो । सडक निर्माणको लागि निर्माण कम्पनीलाई चौतर्फी दबाब बढेपछि बल्ल निर्माणको काम सञ्चालन हुन लागेको हो ।
निर्माण कम्पनीले फागुन लागेसँगै सडक निर्माणको कामलाई केही तीव्रता दिएको छ । सडक कालोपत्रेको काम सुरु भएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार सार्वजनिक सूचना जारी गरी मुडे–चरीकोट सडक खण्ड निर्माण सहजताका लागि हप्ताको तीन दिन दिउँसोको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ । जारी सूचनामा हरेक हप्ताको मंगलबार, बुधबार र बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडकमा कालोपत्रे गर्ने हुँदा आयोजनाको अनुरोधमा सवारी आवागमन बन्द गरिएको उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले सडक निर्माण ठेकेदार कम्पनी तथा जिल्लाका सरोकारवाला निकायसँग छलफल गरेर आगामी चैत्र मसान्तसम्मका लागि हप्ताको तीन दिन सवारी आवागमन बन्द गर्ने निर्णय गरेको जानकारी दिए । आयोजनाको पछिल्लो पटक थपिएको म्याद सकिन करिब डेढ महिना मात्र बाँकी रहेकाले सडक निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी शकिल हेदर, शंकरमाली, सुनौला खिम्ती जेभीले चैतभित्र कालोपत्रे गरिसक्ने गरी काग सक्ने जनाएको छ । लामोसाँगु चरीकोट सडक विस्तार आयोजनाअन्तर्गत लामोसाँगु–जिरी सडक खण्डको मुडे–चरीकोट ३० किलोमिटर सडक विस्तार कामको सम्झौता २०७२ भदौमा भएको थियो । शकिल हेदर, शंकरमाली, सुनौला खिम्ती जेभीले यस सडक छ वर्षदेखि अलपत्र पारेकै कारण दैनिक चार लाख हर्जना तिर्दै आएको छ ।
चैत्र मसान्तसम्म सडक कालोपत्रे नसके आयोजनाको ठेक्का तोड्ने सरकारले चेतावनी दिँदै आएकाले निर्माण कम्पनी काममा फर्किएको हो । दुई वर्षमा काम सम्पन्न गर्ने गरी सडक निर्माणको जिम्मा लिएको कम्पनीले छ वर्ष बितिसक्दा पनि काम नसकेको भन्दै जिल्लावासीले चर्को विरोध गर्दै आएका थिए । निर्माण कम्पनीले विभिन्न बहानामा चार पटकसम्म निर्माणका लागि म्याद थप गरिसकेकको छ ।
भारतीय निर्माण कम्पनी सकिद हैदर र शंकर माली सुनौलो खिम्ती जेभीले निर्माणको जिम्मा लिएकामा केही वर्षअघि पाँच किलोमिटर सडक निर्माण गरी मिटरब्याजी तथा चेक बाउन्सका कारण ठेकेदार सम्पर्कविहीन बनेको थियो । जेभी कम्पनी रहेको र निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तथा ठेक्का सम्झौता खारेज गर्नका लागि सडक विभागले प्रक्रिया अगाडि बढाएपछि जेभीवाला अर्को ठेकेदार काममा फर्किएको हो ।
कम्पनीले चरीकोट, मुडे, बोचलगायत विभिन्न ठाउँबाट धमाधम सडक कालोपत्रे गरिरहेको छ । भारतीय एक्जिम बैंकको एक अर्ब २४ करोड ऋण सहयोगमा निर्माण हुन लागेको खाँडीचौर–चरीकोट सडकखण्डको पहिलो चरणको खाँडीचौरदेखि मुडेसम्मको काम गत वर्ष नै सम्पन्न भइसकेको छ । मुडे–चरीकोट ३० किलोमिटर सडक खण्डको दोस्रो चरणको काम भने प्रगतिविहीन बनेको थियो ।