काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ विनोद थापा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नुवाकोटको लिखु गा.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाडौं तारकेश्वर न.पा. वडा नं. ७ बस्ने थापालाई पक्राउ गरेको जानकारी दिएको छ ।
सीआईबीका अनुसार थापाले बैंक अफ काठमाण्डू लिमिटेड, शाखा कार्यालय गोंगबुमा आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएका थिए । पछि उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दे उच्च अदालत पाटनबाट २०७८ मंसिर ७ गते प्रतिवादी थापाउपर बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ५१ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद हुने फैसला भएको छ ।
उच्च अदालत पाटनको उक्त फैसलालगत्तै फरार भएका थापालाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले आइतबार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ७, फुटुङबाट पव्रmाउ गरेको हो । पक्राउ परेको थापालाई सोमबार फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।