भक्तपुर । प्रहरीले सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा सोही ठाउँस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनावसहित सो कार्यमा संलग्न ८० जनालाई मंगलबार पक्राउ गरेको जानकारी दिएको छ ।
भारतीयमूलका युवायुवतीहरुलाई छोटो समयको लागि कुनै सिस्टममार्फत पाँच देखि १० हजारसम्म सानो सानो मात्रामा ऋण लगानी गरी निश्चित ब्याजसहित तोकिएको समयभित्र उठाउन ऋणीहरुलाई कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्क्याउनेजस्ता कार्य सञ्चालन गर्ने वाङजिनावले नेपाली युवायुवतीहरूको प्रयोग गरी कल सेन्टर सञ्चालन गरिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले उक्त घरबाट ४७ जना महिला र ३३ जना पुरुष गरी ८० जनालाई पक्राउ गरेको हो ।
उक्त कार्य सञ्चालन गर्न प्रयोग भएका १४ थान डेस्कटप कम्प्युटर, ४८ थान ल्याप्टप र दुई थान आइप्याड प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।