काठमाडौं । अखाद्य वस्तु उत्पादन एवं बिक्रीवितरण गर्ने दुई कम्पनीलाई प्रहरीले सिल गरेको छ । सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका–१ घर भई हाल काठमाडौँ ज्याठा बस्ने ४४ वर्षीय नर बहादुर श्रेष्ठले ललितपुर महानगरपालिका–२७ सुनाकोठी ओखटमा सञ्चालन गरेको ‘स्पर्श फुड प्रोडक्ट एन्ड प्याकेजिङ कम्पनी प्रालि’ र ‘श्रीतारा फुड्स एन्ड स्पाइसी प्याकेजिङ प्रालि’ लाई अखाद्य वस्तु उत्पादन एवं बिक्री गरेको अभियोगमा प्रहरीले सोमबार सिल गरेको हो ।
ललितपुको सुनाकोठीमा केही व्यक्तिहरूले अखाद्य वस्तुहरूको उत्पादन एवं बिक्रीवितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौँबाट खटिएको विशेष टोलीले खाद्य तथा गुण नियन्त्रण विभाग बबरमहलको रोहबरमा दुवै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्चापदार्थहरू नष्ट गरी कम्पनीहरू सिल गरेको जनाएको छ ।
दुवै कम्पनी खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति समेत नलिई सञ्चालन रहेको पाइएको छ । साथै दुवै कम्पनीले विगत तीन वर्षदेखि म्याद नाघेका र बजारमा बिक्री नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका एवं म्याद नाघेका पाउरोटीहरूलाई पुनः धुलो बनाई कुकिज टोस्ट तथा अन्य बिस्कुटहरू बनाई बजारमा बिक्री वितरण गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।