काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत पोखरा महानगरपालिका वडा नं ३० कास्कीस्थित शिशुवा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले अस्पताललाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो । अस्पतालमा आयोजित कार्यक्रममा बैंकका पोखरा क्षेत्रका प्रमुख श्री विशाल लामिछाने र बैंकका तालचोक शाखा प्रबन्धक सागरमणि भण्डारीद्वारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. नारायण ओझालाई सो बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरूलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो । नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ ।
बैंकले १३औँ वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा न्यानो नानी बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरूलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको ‘न्यानो नानी’ परियोजना– २ को लागि सहयोग प्रदान गरेको थियो । बैंकले हाल एक सय ११ वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको जानकारी दिएको छ ।