काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारीहरूले बी एन्ड बी हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन् । नेपाल बैंक र बी एन्ड बी हस्पिटलबीच सम्झौता भएपछि नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले बी एन्ड बी हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने भएका हुन् ।
यसअन्तर्गत नेपाल बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र नेपाल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा १० प्रतिशत छुट हुने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
बी एन्ड बी हस्पिटल ग्वार्को ललितपुरमा भएको उक्त सम्झौतापत्रमा हस्पिटलका तर्फबाट प्राडा अशोक कुमार बाँस्कोटा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृण्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका हुुन् । उक्त कार्यक्रममा हस्पिटलका सञ्चालक प्राडा अशोक कुमार बाँस्कोटाले बी एन्ड बी हस्पिटलले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी गराउँदै नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारीहरू एवं ग्राहकहरूलाई न्यूनतम शुल्कमा उच्चस्तरीय स्वास्थ्य सुविधा प्रदान गर्ने अवसर मिलेकोमा आफू धेरै नै खुशी भएको धारणा व्यक्त गरे ।
त्यसैगरी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल बी एन्ड बी हस्पिटलसँग सहकार्य गर्न पाएकोमा हस्पिटलप्रति आभार प्रकट गर्दै नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरू एवं डिजिटल र कार्डमार्फत भुक्तानी गर्ने ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट प्रदान गर्ने व्यवस्था गरेकोमा हस्पिटलप्रति आभार समेत व्यक्त गरे । साथै उनले यस बिशेष छुट सुबिधाबाट नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरू र ग्राहकहरूले लाभान्वित हुने विश्वास समेत व्यक्त गरे ।
उक्त कार्यक्रममा नेपाल बैंमका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल, बी एन्ड बी हस्पिटलका तर्फबाट डा. रिना श्रेष्ठ (वैद्य), डा.सरोज वैद्य, डा. विवेक बाँस्कोटा, चेतना बाँस्कोटा, प्रवीण बराल, विवेक श्रेष्ठलगायतको उपस्थिति थियो ।
निक्षेप संकलनमा पहिलो भएको दाबी : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । गत माघ महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरूमध्ये निक्षेप संकलन वृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तारमा वृद्घिको आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ ।
गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१ दशमलव २६ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार २८ दशमलव ५१ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ वाणिज्य बैंकहरूमध्ये १६ वटा वाणिज्य बैंकहरूको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकहरूको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरूको औसत निक्षेप वृद्धिदर १० दशमलव ३७ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै वाणिज्य बैंकहरूको कर्जा विस्तारमा वृद्धि भएको छ । औसतमा वाणिज्य बैंकहरूको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ ।
नेपालभर नेपाल बैंकले दुई सय १३ शाखाहरू, एक सय ४७ वटा एटीएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सेवा पु¥याइरहेको छ । यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको छ । विगत केही वर्षयता बैंकले छिटो छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत देशभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा आकर्षक ब्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि बैंकको बचत खाता एवं मुद्दती खाताहरूमा निक्षेप कर्ताहरूको आकर्षण बढिरहेको छ ।