काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । जसअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी विश्वनाथ अधिकारीलाई काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं २ बाट बिहीबार र महानगरीय अपराध महाशाखा मीनभवनले बैंकिङ कसुरका फरार प्रतिवादी ५१ वर्षीय छत्र बहादुर रोका क्षेत्रीलाई बुधबार काठमाडौंको वसुन्धराबाट पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये अधिकारीलाई २०७६, २०७७ सालमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं २ बस्ने अधिकारीले नेपाल बैंकको न्युरोड शाखामा आफ्नो नाउँमा रहेको खाताबाट रकम भुक्तानी हुने भनी खातामा पर्याप्त रकम नभएको जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकहरुको भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७८ कात्तिक २९ गते बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ६२ लाख आठ हजार रुपैयाँ जरिवाना र १० दिन कैद हुने ठहर भएको सीआईबीले जानकारी दिएको छ । अधिकारीलाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले बिहीबार तारकेश्वरबाट पक्राउ गरी सोही दिन फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालत पेश गरिएको सीआईबीको भनाइ छ ।
महानगरीय अपराध महाशाखाले पनि बैंकिङ कसुरका फरार प्रतिवादी क्षेत्रीलाई काठमाडौंको वसुन्धाराबाट पक्राउ गरेको जानकारी दिएको छ । महाशाखाका अनुसार बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको वि.सं. २०७७ असोज २६ गतेको फैसलाअनुसार क्षेत्रीउपर पाँच लाख रुपैयाँ जरिवाना तोकिएकोमा फरार रहेका क्षेत्रीलाई बुधबार काठमाडौंको वसुन्धाराबाट पक्राउ गरिएको हो । पक्राउ परेका क्षेत्रलाई बिहीबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको महाशाखाको भनाइ छ ।