क्रेमलिन । युक्रेनमाथि आक्रमण थाल्ने तयारी गरेयता रुसका अर्बपतिहरुले ९० अर्ब अमेरिकी डलर बढी सम्पत्ति गुमाएका छन् । चर्चित म्यागेजिन फोर्ब्सका अनुसार झण्डै ११६ अर्बपतिहरुको ९० अर्ब डलर बढी सम्पत्ति ह्रास भएको हो ।
आक्रमण थालेपछि रुसी राष्ट्रपतिले व्यावसायिक क्षेत्रका व्यक्तिहरुसँग बिहीबार छलफल गरेका थिए । त्यसमा कम्तीमा पनि १३ जना अर्बपतिहरु भाजित अलेकपेरोभ, प्योत्र आवेन, एन्ड्रेई बोकारेभ, एन्ड्रेई गुरिभ, मिखाइल गुत्सेरिभ, सुलेमान केरिमोभ, एन्ड्रेई मेल्निचेन्को, लियोनिद मिखाइल्सन, एलेक्सी मोर्दाशोभ, भादिम मोस्कोभिक, भ्लादिमिर पोटानिन, दिमित्री पम्पिन्स्की र भ्लादिमिर येभ्तुशेन्कोभ समेत सहभागी थिए ।
पुटिनले उनीहरुलाई युक्रेनमाथिको आक्रमण आवश्यक रहेको र जे भइरहेको छ ठीक भइरहेको बताएका थिए । उनको भनाइप्रति कुनै पनि अर्बपतिले प्रतिक्रिया नजनाएको बताइएको छ । रुसले आक्रमण थालेसँगै विश्व सेयरबजारमा उथलपुथल आएको छ । रुसकै अर्बपतिहरुको कुल सम्पत्तिमा ह्रास आएको छ । फेब्रुअरी १६ यता एक सय १६ अर्बपतिको ९० अर्बभन्दा धेरै डलर सम्पत्ति घटेको हो । त्यसमध्ये अनुमानित ३९ अर्ब डलर बिहीबार एकैदिन घटेको छ ।
रुसको सेयरबजार मोइक्स ३३ प्रतिशतले घटेको थियो भने रुबल पनि डलरसँग धेरै कमजोर बनेको थियो । पश्चिमा राष्ट्रले प्रतिबन्ध लगाइरहँदा रुसी धनाढ्यहरु मारमा परेका छन् ।