काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ५२ करोड ७५ लाख ५७ हजार दुई सय रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेभएको छ । कम्पनीका अनुसार यही चैत एक गतेबाट पुँजी वृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँमध्येबाट एकबराबर शून्य दशमलव तीनको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ५२ लाख ७५ हजार पाँच सय ७२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य यही चैत्र २१ गतेसम्म कायम रहनेछ । अधिकृत पुँजी चार अर्ब एवं जारी पुँजी दुई अर्ब २८ करोड ६० लाख दुई हजार रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी दुई अर्ब २८ करोड ६० लाख दुई सय रुपैयाँ नै पुग्नेछ । कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २४ करोड ३० लाख १० हजार पाँच सय ८३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा २४ करोड १४ लाख ४१ हजार चार सय २३ रुपैयाँ रहेको थियो ।