लन्डन, मस्को । बुधबार रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले विदेशी पत्रकारसँग अन्तक्र्रिया गरे । उनले रुसको अर्थतन्त्रले गम्भीर क्षति व्यहोरिरहेको अनुभव गरेको बताए । यसका बाबजुद यसलाई जोगाउने निश्चित उपाय रहेको र सोहीअनुसारका योजनाहरु तर्जुमा गर्ने काम भइरहेको भन्दै नागरिकलाई आश्वस्त पार्ने प्रयास गरे ।
अहिले युक्रेनमाथि छ दिनयता रुसले आक्रमण गरिरहेको छ । लाखौँ सेना उतारेर आक्रमण गर्दा आफूले भौतिक नोक्सानी कति व्यहोरेको छ त्यो त विश्वले थाहा पाइसकेको छैन तर आक्रमणको विरोधमा अमेरिका र युरोपले लगाएको प्रतिबन्धको असर भने देखिन सुरु भइसकेको छ । सरकारहरुले धमाधम प्रतिबन्ध लगाइरहँदा निजी बहुराष्ट्रिय कम्पनीहरुले पनि प्रतिबन्ध लगाइरहेका छन् । युक्रेन आक्रमणको विरोध गर्दै प्रविधि कम्पनीहरु एप्पल, एक्सोनमोबिल, सवारीसाधन कम्पनी फोर्ड, हवाइ कम्पनीहरु बोइङ र एयरबसले रुसमा सेवा निलम्बन गरिसकेका छन् ।
रुसकै ठूलो बैंक बरबैंकको युरोपेली शाखा डिपोजिट रित्तिएसँगै बन्द हुनपुगेको छ । स्विट्जरल्यान्डमा यसको सेवा यथावत् भए पनि अस्ट्रियामा बन्दै गर्न लगाइएको छ भने युरोपेली केन्द्रीय बैंकले यसअघि नै बरबैंक युरोप असफलताको संघारमा रहेको बताएको थियो । किनभने डिपोजिटकर्ताले धमाधम राखेको पैसा निकाले । बैंकले आफ्ना सब्सिडरीहरुले धेरै बाधा अड्चन भोग्नुपरेको एक वक्तव्यमा जनाएको छ । रुसी केन्द्रीय बैंकले तिनीहरुलाई अझ कडाइ गरिरहेको छ । यता अमेरिकी डलरको तुलनामा रुबल निकै कमजोर अवस्थामा आइपुगेको छ । एक डलर बराबर रुबल ११२ पुगिसकेको छ ।
पश्चिमा राष्ट्रले चालेका असामान्य बैंकिङ प्रतिबन्धले रुसी अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने बैंकिङ क्षेत्रलार्य तहसनहस बनाइदिएको छ । फ्रान्सको अनुमानमा १० खर्ब डलर मूल्यबराबरका रुसी सम्पत्ति फ्रिज भएको छ । यसमा आधाजसो रुसी सरकारको सञ्चिति परेको छ ।
योसँगै मस्को अहिले वित्तीय क्षेत्रलाई जोगाउन हरतरहको आकस्मिक कदम चाल्न बाध्य भएको छ । उसले देशबाहिर पैसा जान रोक लगाएको छ भने विदेशी मुद्रा सञ्चितिलाई संरक्षण प्रदान गरिरहेको छ । युक्रेनमाथि आक्रमण सुरु गरेलगत्तै रुसी केन्द्रीय बैंकले झण्डै दोब्बरले ब्याजदर बढाएर २० प्रतिशत पु¥याएको छ, रुसी ब्रोकरहरुलाई विदेशी धितोपत्र बेच्न रोक लगाइएको छ ।
गत सोमबारयता रुसी सेयरबजार बन्द छ । अहिलेसम्म खुलेको छैन । रुसी केन्द्रीय बैंकले बुधबारसम्म सेयरबजार नखुल्ने बताएको छ । सरकारले निर्यातकर्तालाई रुबलका लागि ८० प्रतिशत विदेशी मुद्रा आम्दानी विनिमय गर्न आदेश दिएको छ । रुसी नागरिकलाई विदेशमा पैसा ट्रान्सफर गर्नबाट वञ्चित गरिएको छ ।
यसबाहेक रुसी सरकारले विदेशी कम्पनीलाई रुस छाड्नबाट रोक्ने प्रयास गरिरहेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले मानिसहरुलाई १० हजार डलर वा सो बराबरको विदेशी मुद्रा लिनबाट रोक लगाएको रुसी समाचार संस्था तासले जनाएको छ । बुधबार त रुसी केन्द्रीय बैंकले पैसा विदेश जानबाट रोक्न थप कडाइ गरेको छ । उसले धेरै गैरआवासीय व्यवसायीको ट्रान्सफर नै रोकिदिएको छ । यो प्रतिबन्ध रुसी नागरिकको हकमा लागू गरिएको छैन ।
‘रुसी वित्तीय प्रणाली र समग्र अर्थतन्त्रको अवस्था आगामी केही दिनमा झनै खराब अवस्थामा गुज्रिनेछ किनभने यसअघि नै लगाइएका प्रतिबन्धको असर देखिनेछ’, एक रिसर्चनोटमा बेरेनवर्गका वरिष्ठ अर्थशास्त्री कालुम पिकरिङले बुधबार भने, ‘आगामी दिनमा रुस पश्चिमा र मुख्य विश्वबजारबाट एक्लिनेछ ।’
ऊर्जामा धनी रुसलाई पश्चिमा प्रतिबन्धले यही क्षेत्रमा प्रत्यक्ष निशाना नबनाए पनि विश्वका ठूला तेल कम्पनीहरु रुसबाट बाहिरिँदै छन् भने नयाँ परियोजनामा लगानी गर्न हिच्किचाउनथालेका छन् । यो त छँदै छ मस्कोले रुसी तेल बेच्न पनि धौधौ परेको छ । रुसी प्रशोधन केन्द्रहरु वित्तीय प्रतिबन्धको चपेटामा पर्न थालेका छन्, ट्यांकर सञ्चालकहरु ब्ल्याक सीमा जहाज पठाउन चिन्तामा डुबेका छन् । एक्सोनमोबिलले मंगलबार नै आफ्नो रुसमा रहेको अन्तिम परियोजनाबाट हात झिकेको बताएको छ । साखालिन १ नामक यो परियोजनामार्फत रुसमा ठूलो लगानी भित्रिएको थियो । २५ वर्ष रुसमा उपस्थिति जनाएको यो कम्पनीले छोड्दा यसको मार पर्नेछ । यसबाहेक बीपी, शेल र नर्वेको इक्विनरले पनि यही हप्ता रुसमा व्यवसाय नगर्ने बताइसकेका छन् । यसले यी कम्पनीलाई अर्बौँ डलर नोक्सानी पर्नेछ । यता फ्रान्सको टोटलइनर्जिजले नयाँ लगानी रोकेको छ ।
तेल कम्पनीमात्र होइन अन्य कम्पनीले पनि रुसको लागि खराब निर्णय लिएका छन् । विश्वकै सबैभन्दा धेरै मूल्यवान् कम्पनी एप्पलले मंगलबार रुसमा आफ्ना सामान बेच्न छोडेको बताएको छ । उसले आफ्ना एप्पल पेजस्ता डिजिटल सेवालाई सीमित पारेको उल्लेख गरेको छ । यता फोर्डले मंगलबार नै रुसमा सेवाव सञ्चालन रोकेको जनाएको छ । रुसी कम्पनी सोलरसँगको संयुक्त उपक्रम फोर्ड सेलरमा फोर्डको ५० प्रतिशत सेयर छ । अर्को विमान उत्पादक बोइङले रुसी विमान कम्पनीका लागि कुनै सहयोग नगर्ने निर्णय लिएको छ । उसले पार्ट मेन्टिनेन्स र प्राविधिक सहयोग नदिने घोषणा गरेको छ भने मस्कोमा मुख्य अपरेसनहरु निलम्बन गरेको जनाएको छ । एयरबसले पनि रुसी एयरलाइनहरुलाई सहयोग सेवा नदिने बताएको छ । भावानुवाद ।