काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चितिमा परेको दबाबलाई सुविधाजनक अवस्थामा राख्न विदेशबाट उधारोमा हुने सामान आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले बुधबार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै आयातलाई कम गर्न धरौटीसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
यो व्यवस्याअन्तर्गत क्रेडिट सुविधाअन्तर्गत वा उधारोमा आयात हुने मालसामानको हकमा धरौटी लिनुपर्नेछ । त्यस्तो आयातको भुक्तानी गर्दा कागजातअनुसारको मालसामान आयात भइसकेको र पछि भुक्तानी गर्नुपर्ने व्यहोरा प्रमाणित हुने कागजातको आधारमा ड्राफट र वा टीटीको माध्यमबाट सम्बन्धित निर्यातकर्ताहरुको नाउँमा सटही दिन सकिनेछ ।
यसको लागि भुक्तानीको शर्त उल्लेख भएको वा उधारो बिक्री गरेको पुष्टि हुने क्रेडिट बिलबीजक, सामान ढुवानी भएको पुष्टि हुने ढुवानीसम्बन्धी कागजात, आयात भएको पुष्टि हुने भन्सार प्रज्ञापनपत्र, राजस्व तिरेको रसिद र ९० दिनपछि भुक्तानी हुने भएमा सम्बन्धित पक्षले बिलबीजक नं. र रकम समेत उल्लेख गरी भुक्तानी दाबी गरेको पत्र पेश गर्नुपर्नेछ । यी सबै कागजातहरु भएको खण्डमा मात्र भुक्तानी दिनुपर्ने परिपत्रमा उल्लेख छ । सोही परिपत्रअनुसार बैंक तथा वित्तीय संस्थाहरुमार्फत प्रयोजन खुल्ने आवश्यक कागजातको आधारमा मात्र विदेशी मुद्राको अग्रिम भुक्तानीको प्रमाणपत्र जारी गर्नुपर्नेछ ।
यसअन्तर्गत नेपाली निर्यातकर्ताले निश्चित माल सामान निर्यात गर्ने प्रयोजनको लागि विदेशस्थित आयातकर्तासँग भएको सम्झौता, सहमति, खरिद आदेशलगायत खरिदबिक्री गर्ने व्यहोरा पुष्टि हुने कागजातको आधारमा प्राप्त हुने विदेशी मुद्र्रा, विदेशी मुद्राका डेबिट, क्रेडिट कार्डलगायत अनलाइन भुक्तानीमार्फत प्राप्त हुने विदेशी मुद्रा, स्थानीय बिक्रेता, कम्पनी, फर्मले प्रचलित निर्यातको प्रक्रिया अपनाई पर्यटकको आदेशबमोजिम आफैँले विदेशस्थित ठेगानामा पठाउने प्रयोजनको लागि पर्यटकसँग भएको सम्झौता, सहमति वा अन्य कागजातको आधारमा सम्बन्धित पर्यटकको भिसासहितको राहदानीको प्रतिलिपि र बिक्रेताले जारी गरेको बिलबीजकको प्रतिलिपिसहित प्राप्त हुने विदेशी मुद्रा मात्र स्वीकार गर्नुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार यस्तो विदेशी मुद्रा नगदै बुझाउने भएमा प्रतिपर्यटक अमेरिकी डलर पाँच हजार वा सोबराबरको अन्य विदेशी मुद्रा स्वीकार गर्न सकिनेछ । सोभन्दा बढी रकमको हकमा निज पर्यटन नेपाल प्रवेश गर्दा स्वघोषणा गरी ल्याएको प्रमाणको आधारमा मात्र स्वीकार गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार गैरआवासीय नेपालीको नाममा खाता खोल्दा भने नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचयपत्र, गैरआवासीय नेपाली संघबाट जारी भएको अद्यावधिक परिचयपत्र र सम्बन्धित व्यक्तिको राहदानी (स्वदेशी वा विदेशी) लगायतका कागजातहरु आवश्यक पर्नेछ ।
यसैगरी राष्ट्र बैंकले सोही अर्को परिपत्र जारी गर्दै आन्तरिक रेमिट्यान्स भुक्तानीमा कडाइ गरेको छ । यसको लागि राष्ट्र बैंकले प्रतिदिन प्रतिकारोबार अधिकतम सीमा तोकिदिएको छ । यसअन्तर्गत राष्ट्र बैंकबाट अनुमतिप्राप्त रेमिट्यान्स कम्पनी तथा उक्त रेमिट्यान्स कम्पनीका सबएजेन्ट वा सबरिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन २५ हजार रुपैयाँसम्मको मात्र कारोबार गर्न सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार यसअघि यस्तो कारोबारको सीमा एक लाख रुपैयाँसम्म रहेको थियो । तर विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्त (बेनिफिसियरी) लाई पठएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत् राखिएको परिपत्रमा उल्लेख छ । पछिल्लो समय गैरकानुनीरुपमा हुने वित्तीय कारोबार हुण्डी फस्टाएको र त्यसलाई निरुत्साहित गर्ने उद्देश्यअनुरुप राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा सीमा तोकिदिएको हो ।