काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाग्मती प्रदेशअन्तर्गत चितवन जिल्लामा थप तीनवटा शाखा विस्तार गरेको छ । बैंकका अनुसार चितवनको खैरहनी नगरपालिका वडा नं.०८ स्थित पर्सा बजारमा एक सय ३०औँ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा एक सय ३१औँ र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा एक सय ३२औँ शाखा कार्यालय स्थापना गरी बुधबारदेखि कारोबार शुभारम्भ गरिएको हो ।
बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरू तथा बृहत् शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य सहरी क्षेत्रहरूमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
सोसियल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विभिन्न डिजिटल माध्यमहरूबाट समेत ग्राहकहरूलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकका यससँगै एक सय ३२ वटा शाखा, एउटा विस्तारित काउन्टर, चारवटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकले आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशतको वृद्धिदरका साथ करिब एक अर्ब खुद सञ्चालन आम्दानी गरेको छ । यो त्रैमासिकसम्ममा (गत वर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैरसञ्चालन आम्दानी भए पनि करपछिको नाफा (पीएटी) करिब १२ प्रतिशतले मात्रै घटेको छ । बैंकको निक्षेप ४८ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने कर्जा ४४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ जुन तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १० दशमलव ६९ प्रतिशत र १० दशमलव ९८ प्रतिशतले बढेको हो ।
बैंकको पुँजी पर्याप्तता अनुपात १२ दशमलव ३२ प्रतिशत कायम गरेको छ भने प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा रहेको छ । बैंकको हालको चुक्ता पुुँजी तीन अर्ब १४ करोड र जगेडा कोषमा ९ दशमलव ६७ करोड रहेको छ । साथै निष्क्रिय कर्जाअघिल्लो त्रैमासिकमा एक दशमलव ७९ प्रतिशत रहेकोमा यस त्रैमासिकसम्ममा एक दशमलव ७७ प्रतिशतमा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५ दशमलव ७४, प्रतिसेयर नेटवर्थ १३३ दशमलव शून्य दुई र आधार दर नौ दशमलव दुई प्रतिशत रहेको छ ।