काठमाडौं । देशभर स्थापना भएका लघुवित्तका लगानीकर्ताहरूको साझा संगठन माइक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) दुईदिने सञ्चालक शिक्षा तालिम कार्यक्रम सम्पन्न गरेको छ । संघका अनुसार फागुन १५ र १६ गते लघुवित्तका अध्यक्ष तथा सञ्चालकहरूका लागि सञ्चालक शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
तालिममा सहभागी २० वटा लघुवित्तका ३६ जना सञ्चालकहरूका लागि नेपाल राष्ट्र बैंक, लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, पूर्वसचिव तथा लघुवित्तका विज्ञ डा. मानबहादुर विके, नेपाल राष्ट्र बैंकका निर्देशक बुद्धराज शर्मा, नेपाल राष्ट्र बैंकका निर्देशक डा. शालिकराम पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक बासुदेव अधिकारीले प्रशिक्षण दिएका थिए ।
तालिम कार्यक्रममा प्रशिक्षणसहित विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया पनि गरिएको थियो । लघुवित्तमा देखिएको तरलताको अभाव, नीति निययको समस्या, ब्याजदरमा देखिएको समस्यालगायत विषयमा अध्यक्ष तथा सञ्चालकहरूले राखेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक अधिकारीले समस्या समाधानका लागि नेपाल राष्ट्र बैंक र सरकारको विशेष फोरममा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरे । अर्का कार्यकारी निर्देशक डा. श्रेष्ठले नेपालको वर्तमान आर्थिक अवस्थामा प्रशिक्षणसहित सहभागीहरूसँग अन्तरक्रिया गरेका थिए भने लघुवित्तका विज्ञ डा. मानबहादुर विकेले लघुवित्त क्षेत्रमा देखिएका समस्था तथा चुनौतीका विषयमा आफ्ना तर्कहरू राख्दै त्यसको समाधानका उपायहरूका विषयमा सहभागीहरूसँग अन्तरक्रिया गरेका थिए ।
निर्देशक बुद्धराज शर्माले लघुवित्तका अध्यक्ष तथा सञ्चालकहरूको भूमिका विषयमा, अर्का निर्देशक डा. शालिकराम पोखरेलले अन्य देशहरूमा लघुवित्त कसरी सञ्चालित हुन्छन् भन्ने विषयमा र पूर्वकार्यकारी निर्देशक बासुदेव अधिकारीले कर्पोरेट गभर्नेन्सका विषयमा प्रशिक्षणसहित सहभागीहरूसँग अन्तरक्रिया गरेका थिए ।
कार्यक्रममा एमफानका अध्यक्ष जगतबहादुर पोखरेलले सधैँ लघुवित्तको ब्याजदर महँगो भयो भनेर मात्रै कुरा उठ्छ तर हामी गाउँ–गाउँमा गएर जनतालाई सहजै तरिकाले दिएको सेवा सुविधाको कुरा उठेको छैन यसमा नेपाल राष्ट्र बैंकको ध्यान जानुपर्ने बताए । हामी राष्ट्र बैंकको निर्देशन इमान्दारपूर्वक पालन गर्छौँ, तर राष्ट्र बैंकले हाम्रो समस्या सुनिदिनुप-यो अध्यक्ष पोखरेलले भने । लघुवित्त क्षेत्रमा देखिएका वर्तमान समस्याहरूलाई नेपाल राष्ट्र बैंकलाई सुनाएर सम्बन्धित मन्त्रालयसम्म पु-याउन एमफाननले पहल गर्ने उनले बताए ।
नेपाल सरकारका पूर्व–सचिव तथा लघुवित्तमा पीएचडी गरेका लघुवित्तका विज्ञ डा. मानबहादुर विकेले लघुवित्त सम्मेलन गर्न दिएको सुझावमा एमफानको नेतृत्वमा सम्मेलन गर्न एमफानका सञ्चालकहरूसहित सहभागी लघुवित्तका सञ्चालकहरूले प्रतिबद्धता जनाएका थिए ।