काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार रातिदेखि नेपाल आयल निगमले बढाएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर एक सय ५० रुपैयाँ र डिजेल प्रतिलिटर एक सय ३३ रुपैयाँ पुगेको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सबै वस्तुको मूल्यवृद्धि हुनेछ । डिजेल तथा पेट्रोलको मूल्यवृद्धि हुँदा त्यसले ढुवानीमा प्रत्यक्ष असर पर्नेछ भने उत्पादनमा समेत महंगी बढ्नेछ । यसले आम सर्वसाधारणलाई झनै महंगी बढ्नेछ । मूल्यवृद्धिको चर्को विरोध भइरहे पनि सरकारले निगमलाई अनुदान दिएर तेल खरिद गर्न लगाउनुको सट्टा मूल्यवृद्धि गर्न अनुमति दिएको हो । भारतीय आयल कर्पोरेसनले मूल्यवृद्धि भएको सूची पठाएको जानकारी निगमले सरकारलाई दिएको थियो । तर, सरकारले पैसा छैन भन्दै मूल्यवृद्धि गरेर घाटा कम गर्न अनुमति दिएको हो ।
विभिन्न विद्यार्थी संगठन, राजनीतिक दल तथा आमसर्वसाधारणले सरकारले अनुदान दिएर निगमले पेट्रोलियम पदार्थ खरिद गरेर बिक्री गर्नुपर्ने बताउँदै आएका थिए । तर, सरकारले त्यसरी रकम दिन नसकिने भन्दै मूल्यवृद्धि गर्न अनुमति दिएको हो ।
निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर पाँचले वृद्धि गरेको हो । डिजेलसँगै मट्टितेलको मूल्य पनि प्रतिलिटर एक सय ३३ रुपैयाँ नै पुगेको छ । यस्तै निगमले आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १० र अन्तर्राष्ट्रियतर्फ हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर सय अमेरिकी डलर वृद्धि गरेको छ । निगमले एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । यद्यपि निगमलाई खाना पकाउने ग्यासमा पनि घाटा छ । आन्दोलन कम होस् भनेर खाना पकाउने ग्यासको भने निगमले मूल्यवृद्धि नगरेको हो । विगतदेखि नै खाना पकाउने ग्यासमा मूल्यवृद्धि हुँदा आन्दोलन उग्र हुने गरेको कारण सरकारले ग्यासको मूल्य हत्तपत्त बढाउने गरेको छैन ।
पेट्रोलियम पदार्थको मूल्य बढेर इतिहासमै सबैभन्दा धेरै भए पनि आगामी १५ दिनमा करिब दुई अर्ब ५० करोड घाटा हुने निगमले प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको फागुन महिनासम्म करिब २८ अर्ब नोक्सानी हुने अवस्था देखिएको निगमले जनाएको छ । रुस–युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार कच्चा तेलको मूल्य प्रतिब्यारेल झण्डै १२० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएसँगै निगमको घाटा पनि उत्कर्षतर्फ पुग्दै गएको छ । निगमले पेट्रोलियम पदार्थ खरिदबापत भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने रकम अपुग भएको भन्दै सरकारसँग सहयोग मागेको छ ।
यसैबीच, पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोरेको नेपाल आयल निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गरेको छ । निगम सञ्चालक समितिको बैठकले घाटा न्यूनीकरणमा कर्मचारीका तर्फबाट योगदान गर्ने उद्देश्यले पोशाक संरक्षण भत्ता कटौती गरेको हो ।
सञ्चालक समितिको निर्णयसँगै निगमका स्थायी कर्मचारीले पोशाक संरक्षण भत्ता पाउनेछैनन् । पोशाक संरक्षण खर्च कटौती भएपछि वार्षिक करिब ५० लाख खर्च न्यूनीकरण हुने निगमले जनाएको छ । यस्तै निगमले बिक्रेता कमिसन पनि हाललाई स्थगित गर्ने निर्णय गरेको छ । यसबाट पेट्रोलियम पदार्थको मूल्य बढे पनि बिक्रेताले कमिसनबापतको अतिरिक्त मूल्य पाउनेछैनन् । यही फागुन ७ गतेको मूल्यमा आधारित कमिसन मात्र बिक्रेताले प्राप्त गर्ने निगमले जनाएको छ । कमिसन नबढेपछि निगमको लागत केही हदसम्म घटेको छ । बिक्रेताले मूल्य संरचनामा आधारित रहेर प्रतिलिटरको कायम मूल्यको करिब ३.३९ प्रतिशत कमिसन पाउँदै आएका छन् ।
कच्चा तेल झण्डै १० वर्षयताकै उच्च : काठमाडौं, फागुन १९ । कच्चा तेलको मूल्य झण्डै १० वर्षयताकै उच्च भएको छ । युक्रेनमाथिको आक्रमणको प्रतिक्रिया जनाउँदै पश्चिमा राष्ट्रहरुले रुसविरुद्ध प्रतिबन्ध लगाएसँगै कच्चा तेलको मूल्य आकाशिएको हो ।
बिहीबार कच्चा तेलको विश्व मानक ब्रेन्ट क्रुड ११९.८४ प्रतिब्यारेल अमेरिकी डलर पुगेको थियो । एजेन्सीहरुका अनुसार यो सन् २०१२ यताकै उच्च हो । ब्रेन्टको धेरै मूल्यवृद्धि बितेको महिनायता यो तेस्रो भएको इकोनोमिक टाइम्सले जनाएको छ । यता अमेरिकी कच्चा तेलको मूल्य पनि ११६.५७ अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ । जुन सन् २००८ यताकै उच्च हो । बिहीबार इरानसँग जोडिएको आणविक सम्झौता पुनः ब्युँताएर इरानलाई तेल निर्यात गर्न दिनेसम्बन्धी समाचार आएपछि बजार केही आश्वस्त भए पनि कच्चा तेल अहिले निकै आकाशिएको छ ।
बिहीबार सुरुवाती कारोबार हुनैलाग्दा रुसी तेल प्रशोधन क्षेत्रलक्षित अमेरिकी प्रतिबन्धपछि तेलको मूल्य बढेको बताइएको छ । संसारकै धेरै कच्चा तेल उत्पादनमा साउदी अरेबिया र रुसबीच प्रतिस्पर्धा छ । रुसले प्रतिदिन ७० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो । यसको आधाजसो युरोपमा रुसी तेल निर्यात हुन्थ्यो । तर युक्रेनमाथि एकतर्फी आक्रमण सुरु गरेपछि रुसविरुद्ध मात्र नभई रुसी कम्पनीमाथि समेत अमेरिका र युरोपले प्रतिबन्ध लगाएको छ । यसमाथि ती देशमा रुसी समग्र सामान नकिन्ने लहर नै चलेको छ । पेट्रोलियम निर्यातक देशहरुको समूह (ओपेक), रुस र तिनीहरुको पक्षराष्ट्र (ओपेक प्लस)ले पछिल्लो पटक गरेको प्रतिदिन चार लाख ब्यारेल प्रतिदिन तेल उत्पादनसम्बन्धी सम्झौतालाई कायमै राखेका छन् ।
अमेरिकाले भण्डारणबाट निकाल्ला छ करोड ब्यारेल कच्चा तेल ?
यसैबीच, संयुक्त राज्य अमेरिकाले रणनैतिक भण्डारमा राखेको कच्चा तेल रिलिज गर्ने तयारी गरेको छ । केबल न्युज नेटवर्कका अनुसार रुसले पाँच दिनयता जारी राखेको युक्रेनमाथिको आक्रमणसँगै कच्चा तेलको मूल्य आकाशिएपछि मूल्यवृद्धि नियन्त्रणार्थ उक्त कदम चाल्नलागेको हो ।
यसअनुसार छ करोड ब्यारेल कच्चा तेल निकाल्ने तयारी गरिएको छ । अमेरिकाले यसबारे चाँडै निर्णय लिनलागेको सीएनएनले जनाएको छ । यसमा रणनैतिक पेट्रोलियम रिजर्भबाट समेत तेल निकालिनेछ । राष्ट्रपति जो बाइडेनले यसका लागि वरिष्ठ सरकारी अधिकारीसँग छलफल गरेको स्रोतलाई उद्धृत गरी समाचारमा जनाइएको छ । अमेरिकासँगै यसका पक्षराष्ट्रहरु जर्मनी, बेलायत, इटली, नेदरल्यान्ड्स र अन्य मुख्य युरोपेली देश तथा जापान र दक्षिण कोरियाले पनि भण्डारणबाट विश्व आपूर्तिमा तेल निकाल्न सक्नेछन् ।
तेल बजारमा पछिल्लो परिस्थितिले सिर्जना गरेको प्रभावबारे छलफल गर्न अमेरिकी अधिकारीहरु साउदी अरेबियासमेत पुगेको बताइएको छ । अमेरिकाले यसबारे साउदी अरेबियालाई जानकारी समेत गराइसकेको छ । बाइडेनले गत हप्ता नै भण्डारण गरिएको तेल निकालेर विश्व आपूर्तिलाई सहज पार्ने संकेत गरेका थिए । अमेरिकाले लुजियाना र टेक्ससमा ठूलो मात्रामा कच्चा तेल भण्डारण गरेर राखेको छ ।
साउदी अरेबियाको प्रतिबद्धता : यसैबीच, साउदी अरेबियाले रुससहितको तेल नियार्तक देशहरुको संगठन (ओपेक प्लस) सँगको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता पुनः दोहो-याएको छ । साउदी सरकारको मन्त्रिपरिषद्ले १० मुख्य तेल उत्पादक राष्ट्र र रुसबीचको धेरै तेल उत्पादन गरी बजार पठाउने सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो । अहिले कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय अमेरिकी डलर नाघेको छ । त्यस्तै साउदी अरेबिया सरकारले रुस–युक्रेन द्वन्द्व थप नचर्काउन पनि आग्रह गरेको छ ।
यसअघि मंगलबार अमेरिकी कच्चा तेल डब्लुटीआई छ प्रतिशतले बढेर प्रतिब्यारेल मूल्य एक सय दुई अमेरिकी डलर पुगेको थियो जुन सन् २०१४ यताकै धेरै हो । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड पनि सात प्रतिशतले बढेर एक सय चार दशमलव ३७ डलर प्रतिब्यारेल पुगेको थियो । ब्रेन्ट गत हप्ता एक सय छ डलर पुगेको थियो ।