काठमाडौं । वरिष्ठ कम्युनिष्ट नेता कृष्णराज वर्मा अस्वस्थ भएका छन् । ९२ वर्षीय वर्माको छातीमा इन्फेक्सन देखिएपछि विगत ११ दिनदेखि अस्पतालमा भर्ना गरिएको छ । वर्माको छातीमा निमोनिया (इन्फेक्सन) देखिएको पारिवारिक स्रोतले जनाएको छ । सात दिन ओम अस्पतालमा उपचार हुँदा पनि स्वास्थ्यमा सुधार नआएपछि चिकित्सककै सल्लाहमा ह्याम्स अस्पताल सारिएको छ । विगत चार दिनदेखि अस्पतालको आईसीयू कक्षमा वर्माको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
वर्माले कोभिडविरुद्धको सबै भ्याक्सिन लगाएको कारण कोभिड भने देखिएको छैन । यद्यपि उनले पूर्ण डोज खोप लगाइसकेको पारिवारिक स्रोतले जनाएको छ । आफैँले खाना खाए पनि चिकित्सकले स्वास्थ्य अवस्था भने चिन्ताजनक रहेको जनाएका छन् । मधेशमै सात दशकभन्दा बढी राजनीति गरेका वर्मा मधेशी समाज र मधेशी व्यवहारका जानकार मानिन्छन् । २००७ सालदेखि अहिलेसम्म बर्मा राजनीतिमा सक्रिय छन् ।