काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शनिबार आयोजित एक समारोहका बीच शपथ दिलाएका हुन् ।
शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार रहेका छन् । यस्तै नवनिर्वाचित सदस्य सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले पनि शपथ लिएका छन् ।
नवनिर्वाचित सदस्यले सभा तथा संसदीय समितिमा भाग लिनुअघि संघीय कानुनअनुरूप शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ । शपथ लिन केही सदस्य आफ्नो जातीय वेषभूषासहितको पहिरनमा आएका थिए । राष्ट्रियसभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो । उनीहरूको कार्यकाल छ वर्षको हुनेछ । समारोहमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई संघीय ससद्को प्रतिक चिह्न (लोगो) प्रदान गरेका थिए । यस्तै सचिवालयका महासचिव डा. भरतराज गौतमले सचिवालयको तर्फबाट सफल कार्यकालका लागि बधाई दिए ।
कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रियसभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक सहभागी थिए । संसद् सचिवालयले उनीहरूलाई संसद् र संसदीय अभ्यासबारे शनिबार नै संक्षिप्त जानकारी समेत दिएको थियो ।