काठमाडौं । कृषि विकास बैंक सञ्चालक समितिले प्रमुख कर्जा अधिकृत प्रताप सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको छ । सुवेदी २१ वर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् । उनी साढे तीन वर्षदेखि कामु महाप्रबन्धकको जिम्मेवारीमा थिए । कृषि विकास बैंकमा प्रवेश गर्नुअघि उनले नेपाल बैंक र कर्मचारी सञ्चय कोषमा समेत काम गरेका थिए । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ४२ करोड २५ लाख १२ हजार पाँच सय ८२ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब ३२ करोड १६ लाख ८८ हजार पाँच सय ५९ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी १८ अर्ब ६२ करोड छ लाख २७ हजार सात सय ६३ रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासमा एक खर्ब ५७ अर्ब ४९ करोड १८ लाख ६० हजार पाँच सय सात रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७४ अर्ब २८ करोड ८७ लाख ८४ हजार छ सय ३५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ७४ करोड २७ लाख ८० हजार एक सय ३२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा ६८ करोड १५ लाख तीन हजार चार सय ८६ रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ३८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६२ अर्ब ८१ करोड ४९ लाख ३० हजार छ सय ७७ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब ५९ करोड ८३ लाख ५५ हजार आठ सय २० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ८८ करोड चार लाख ८४ हजार चार सय २९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३७ प्रतिशत रहेको थियो ।