काठमाडौं । नेपाल वायुसेवा निगमले साउदी अरेबिया उडानको अनुमति पाएको छ । साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएसन (जेएसीए)ले आइतबार निगमलाई उडानको अनुमति दिएको हो ।
जेएसीएबाट प्राप्त अनुमतिअनुसार निगमले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ । निगमले आइतबार एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले जनाएको छ ।