काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २३ गते अर्थात् सोमबार पुनः छ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही फागुन १६ गते पनि राष्ट्र बैंकले आठ अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । यसरी बिक्री गरिएको ट्रेजरी बिल पुरानो नवीकरणअन्तर्गतको रहेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार जारी मिति फागुन २५ गते बुधबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको कुुल ट्रेजरीमध्ये २८ दिने अवधिको दुई अर्ब र ९१ दिने अवधिको चार अर्ब २६ करोड रुपैयाँको रहेको थियो । जसमध्ये २८ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ चैत २२ गते र ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ जेठ २५ गते तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि गत साता अर्थात् फागुन १६ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको तीन अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी जारी गरेको थियोे । राष्ट्र बैंकले आगामी चालू आर्थिक वर्षमा सरकारको लागि दुई खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोही अनुरुप राष्ट्र बैंकले ट्रेजरीको बिक्री प्रक्रियालाई अगाडि सारेको हो ।
गत आर्थिक वर्षमा भने राष्ट्र बैंकले सरकारको लागि दुई खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो । चालू आवको लागि उठाइने आन्तरिक ऋणको लागि राष्ट्र बैंकले अल्पकालीन तथा दीर्घकालीन अवधिका ट्रेजरी बिलहरु, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायतका मौद्रिक उपकरणहरु बिक्री गर्ने तयारी गरेको छ । यसअन्तर्गत दोस्रो त्रैमासिकमा छ अर्ब, तेस्रो त्रैमासिकमा एक खर्ब ५० करोड र चौथो त्रैमासिकमा एक खर्ब ३२ अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाइने राष्ट्र बैंकले जानकारी दिएको छ ।
सो अनुरुप चालू आर्थिक वर्षमा राष्ट्र बैंकले २८ दिने, ९१ दिने, एक सय ८२ दिने र तीन सय दिने समेत गरी कुुल एक खर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरिनेछ । जसमध्ये दोस्रो त्रैमासिकमा छ अर्ब, तेस्रो त्रैमासिकमा ४४ अर्ब र चौथो त्रैमासिकमा ५५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । विकास ऋणपत्रतर्फ भने दुई वर्षे, चार वर्षे, पाँच वर्षे र छ वर्षे समेत गरी कुल एक खर्ब २९ अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाइनेछ । सोमध्ये तेस्रो त्रैमासिकमा ५४ अर्ब ५० करोड र चौथो त्रैमासिकमा ७५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने राष्ट्र बैंकको भनाइ छ ।
यीबाहेक आगामी असार मसान्तसम्ममा चार अर्ब रुपैयाँबराबरको पाँच वर्षे अवधिको नागरिक बचतपत्र बिक्री गर्ने तयारी पनि राष्ट्र बैंकले गरेको छ । जसअन्तर्गत तेस्रो त्रैमासिकमा दुई अर्ब र चौथो त्रैमासिकमा दुई अर्ब रुपैयाँको बचतपत्र बिक्री गरिनेछ । लक्ष्यअनुरुपको आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले चालू आवको चौथो त्रैमासिकमा ५० करोड रुपैयाँबराबरको पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र पनि बिक्री गर्नेछ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको लागि उठाइने कुल आन्तरिक ऋणमा ट्रेजरी बिलको अंश ४३ दशमलव नौ प्रतिशत, विकास ऋणपत्रको अंश ५४ दशमलव दुई प्रतिशत, नागरिक बचतपत्रको अंश एक दशमलव ६७ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको अंश ०.२१ प्रतिशत रहेको छ ।
