काठमाडौं । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । समितिले सरकारसमक्ष छ बुँदे मागपत्र पेश गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनीसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
समितिले नेपाल आयल निगमसमक्ष मागपत्र पुनः पेश गरेको र सो माग पूरा नभए चैत ५ गतेबाट आन्दोलन गर्ने जनाएको छ । नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ आबद्ध व्यवसायीहरु सम्मिलित उक्त समितिले पेट्रोलियम ऐन बनाई तत्काल लागू गर्नुपर्ने तथा एलपीजी विनियमावली, बिक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यावसायिक संस्थाको प्रतिनिधिसहितको सहभागितामा परिमार्जनसहित संशोधन गर्नुपर्ने माग राखेको छ ।
मागपत्रमा आयल निगममार्फत पेट्रोलियम व्यावसायिक प्रतिष्ठानको कारोबारमा हालको अवस्था तथा भविष्यमा गरिनुपर्ने सुधार तथा योजनाबारे अध्ययन गरी लागू गर्नुपर्ने, सरकारले यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडादर पेट्रोलियम ढुवानी साधनमा समेत लागू हुनुपर्ने तथा पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउँदै आएको कमिसन स्थगन भएकोमा फागुन १९ गतेबाट नै पाउनुपर्ने माग गरिएको छ । यस्तै, एलपी ग्यास ढुवानी गर्ने साधनको भाडादर स्वचालित हुनुपर्ने माग पनि रहेको छ ।
समितिले अघि सारेका आन्दोलनका कार्यक्रमहरूमा चैत ५ गतेदेखि १५ गतेसम्म स्थानीयस्तरका पेट्रोलियम व्यवसायीहरु स्थानीय एसोसिएसन, पेट्रोलियम ढुवानी व्यवसायी संघ, तथा एलपी ग्यास उद्योग संघका स्थानीय प्रतिनिधिहरुबाट स्थानीयस्तरका आन्दोलन समिति गठन गर्ने रहेको छ । चैत ६ गतेबाट सम्पूर्ण एलपी ग्यास उद्योगहरुले नेपाल आयल निगमबाट पीडीओ खरिद नगर्ने तथा चैत १० गतेबाट सम्पूर्ण एलपी ग्यास उद्योगहरुले भारतका सबै रिफाइनरीहरुबाट एलपी ग्यास लोड बन्द गर्ने आन्दोलनका कार्यक्रम अघि सारिएको छ ।
चैत १४ गतेबाट एलपी ग्यास उद्योगहरुले सबै नाकाहरुबाट भन्सार छुटाउने कार्य नगर्ने, चैत १६ गतेबाट राज्यभरका पेट्रोलियम पदार्थको ढ्वानी टैंकरहरुले पीडीओ नलिने भनिएको छ । समितिले चैत १७ गतेबाट राज्यभरका एलपी ग्यास उद्योगहरुबाट बिक्रेताहरुलाई बिक्रीवितरण बन्द गर्ने, चैत १८ गतेबाट पेट्रोलियम ढुवानी ट्यांकरहरुले लोडिङ अनलोडिङ बन्द गर्ने तथा बिक्रेताहरुले निगमको डिपोबाट पेट्रोलियम पदार्थको खरिद बन्द गर्ने जनाएको छ । आन्दोलनका कार्यक्रमअन्तर्गत चैत २० गतेबाट उल्लिखित मागहरु परा नभएसम्म राज्यभर एलपी ग्यास उद्योग र ग्यास बिक्रेताहरुले ग्यास बिक्री बन्द गर्ने, पेट्रोलियम ढवानी ट्यांकरहरुले ढ्वानी कार्य बन्द गर्ने जनाएको छ ।