कञ्चनपुर, माघ २७
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरभरिका निरक्षर व्यक्तिहरुलाई साक्षर बनाउनका लागि साक्षर अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकामा रहेका जम्मा दुई हजार आठ सय ८२ निरक्षर व्यक्तिलाई साक्षर बनाउन साक्षर अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकामा रहेका दुई सामुदायिक अध्ययन केन्द्रमार्फत नगरपालिकाका १२ वटै वडाका साक्षर हुन बाँकी सबै नागरिकका लागि साक्षरता अभियान सञ्चालन गर्न लागेको हो । कार्यक्रमअन्तर्गत १५ देखि ६० वर्ष उमेर समूहका निरक्षरलाई साक्षर बनाउनका लागि ८८ वटा कक्षामार्फत साक्षर बनाईने नगरपालिकाको प्रवक्ता जगत बहादुर सिंहले बताए ।
‘निरक्षरलाई साक्षर बनाउनका लागि सहजकर्ता छनौट गरी कक्षा सञ्चालनको तयारी सुरु गरेका छौं,’ उनले भने, ‘नगरपालिका क्षेत्रमा रहेका सबै निरक्षर महिला पुरुषलाई साक्षर बनाउँछौँ । २८ गते नगरसभा बस्दै छ त्यसबाट २ गते वा ५ गते कहिलेदेखि सञ्चालन गर्ने भन्नेबारे निर्णय हुन्छ ।’
आगामी फागुन ५ गतेदेखि निरक्षर व्यक्तिहरुका लागि कक्षा सञ्चालन गरिने र सबै निरक्षर नागरिकलाई साक्षर बनाएपछि नगरलाई साक्षर क्षेत्र घोषणा गरिने सिहँले जानकारी दिए । उनका अनुसार प्रशिक्षकका लागि सिकाउने शिक्षकको नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । चाँडै त्यसको टुङ्गो लगाएर अभियान सुरु गरिनेछ ।
साक्षरता कक्षा सञ्चालनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले १० लाख र शुक्लाफाँटा नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त विनियोजित बजेटबाट साक्षरता कक्षामा सहभागी हुने नागरिकका लागि मसलन्द र कापी/किताब खरिद गरिनुका साथै सहजकर्ताको पारिश्रमिकका लागि खर्च गरिने बताइएको छ ।