काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले काठमाडौं नयाँबानेश्वर बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–२ ठेगाना भएका ४९ वर्षीय कृष्ण प्रसाद बन्जाडेलाई बुधबार पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७७ पुस २४ र २०७८ मंसिर २१ गतेको फैसलाले ४ दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं थापागाउँबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको महाशाखाले जानकारी दिएको छ ।
यसैगरी युट्युब च्यानलमार्फत अनर्गल वक्तव्यबाजी तथा चरित्रहत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको अभियोगमा पनि प्रहरीले सोही दिन दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका–८ भीमढुंगा बस्ने ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र तारकेश्वर नगरपालिका–४ शेषमती बस्ने लमजुङ राईनास नगरपालिका स्थायी वतन भएका २७ वर्षीय निशान चिलवाल रहेका छन् ।
हरिले ‘नेपाल मिडिया’ र निशानले ‘विशाल नेपाल’ नामक युट्युब च्यानलमार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ पीडितको मानमर्दन र चरित्रहत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्यबाजी गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको खुल्न आएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट ७/७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ ।