काठमाडौं । सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी प्रस्ट नीतिनियम बनाउन व्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेम कुमार श्रेष्ठसँग भेट गरी प्रष्ट नीति बनाउन आग्रह गरेको हो ।
सुनचाँदी व्यवसाय र यसको कारोबारका लागि हालसम्म पनि प्रस्ट नीति बन्न नसक्दा व्यवसाय सञ्चालनमा बाधा पुगेको महासंघका अध्यक्ष शाक्यले बताए । सरकारले सुनचाँदी कारोबारको निर्देशिका बनाएमा त्यसलाई अक्षरश पालना गरी अगाडि बढ्न व्यवसायीहरु तयार रहेको उनको भनाइ छ । आफूहरुले दशौँ वर्षदेखि यस विषयमा आवाज उठाउँदै आएको भए पनि हालसम्म त्यसको सम्बोधन हुन नसकेको उनले गुनासो गरे । भेटका क्रममा महानिर्देशक श्रेष्ठले कुनै पनि पेशा व्यवसाय सञ्चालनका लागि प्रस्ट नीतिनियम आवश्यक पर्ने स्वीकार गर्दै सुनचाँदी व्यवसाय, व्यवसायी र आम उपभोक्ता सरोकारलाई समेत समेट्ने गरी नीति बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए । यसका लागि विभिन्न सरकारी निकायसँग समन्वय गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।
व्यवसायीहरुका अनुसार सरकारले स्पष्ट नीति नबनाउँदा मुनाफा, ज्यालाजर्ती, टोलसेन्स जस्ता विषयमा समस्या देखिएको छ । जसका कारण व्यवसायीहरु बारम्बार अप्ठ्यारो पर्ने गरेका छन् । सरकार र व्यवसायीबीच शीघ्र नीतिनिर्माण गरी लागू गर्ने सहमति भए पनि हालसम्म त्यसको कार्यान्वयन हुनसकेको छैन । प्रतिनिधिमण्डलमा महासंघका निवर्तमान अध्यक्ष मोहन सुनार, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहन काजी शाक्य, महासचिव धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, मधेश प्रदेश सभापति रामजी साहलगायतका व्यवसायीको सहभागिता रहेको थियो ।