काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभा तथा १२औँ अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने साधारणसभा तथा अधिवेशन आइतबारसम्म चल्नेछ ।
महासंघले बुधबार पत्रकार सम्मेलन गरी साधारणसभा तथा अधिवेशन कार्यक्रमको तयारी समेत पूरा भएको जनाएको छ । महासंघका अनुसार कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । साधारणसभा तथा अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि र सोही संख्यामा पर्यवेक्षकको सहभागिता रहनेछ ।
साधारणसभाकै उद्घाटनसत्रमा प्रधानमन्त्री देउवाले महासंघको मुखपत्र निर्माण विशेषांकको विमोचन समेत गर्ने महासंघले जनाएको छ । अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्यसमिति समेत चयन गर्नेछ । महासंघको ५९ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएटसहित आठ उपाध्यक्ष, महासचिव एक, उपमहासचिव दुई, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुनेछ ।
साधारणसभामा महासचिव एवम् कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिनुका साथै सार्वजनिक हुने क्रममा रहेको सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधन र व्यवसायीहरूका अन्य मागहरुका विषयमा व्यापक छलफल भई काठमाडौं घोषणापत्र जारी गरिने महासंघले जनाएको छ । अधिवेशनस्थलबाहिर निर्माण उद्योगसम्बन्धी विभिन्न संस्था एवं कम्पनीका ३० वटा स्टलहरू रहनेछन् । साधारणसभा तथा अधिवेशन कार्यक्रम सफल रूपमा सम्पन्न गर्न महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सिंहले सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनले निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान गर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले समस्याग्रस्त रहेको निर्माण उद्योग सुधारका लागि ११औँ संशोधन आवश्यक रहेको बताए । एसोसिएट उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले ११औँ संशोधन तत्काल सार्वजनिक हुनुपर्नेमा जोड दिए ।
यसैबीच अन्तर्राष्ट्रिय स्तरमा भइरहेको इन्धनको भारी मूल्यवृद्धिसँगै निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरू थप मारमा परेको महासंघका महासचिव रोशन दाहालले बताए । महासंघका नीतिगत उपमहासचिव तथा प्रवक्ता टंकप्रसाद चौलागाईले निर्माण उद्योगका समस्या समाधान गर्न साधारणसभा तथा अधिवशेन सफल हुने विश्वास व्यक्त गरे ।