काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यार्थीहरूलाई झोला वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिकरूपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्ने क्रममा बैंककोे सुर्खेत शाखाले एक विशेष कार्यक्रमका बीच बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला वितरण गरेको हो ।
उक्त झोला वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू उपस्थित रहेका थिए । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूलाई झोला वितरण गरी पढाइमा थप हौसला र प्रेरणा प्रदान गरेकोमा विद्यालय व्यवस्थापनले बैंकलाई धन्यवादज्ञापन गरेको छ । सोही कार्यक्रममा बोल्दै सुर्खेत शाखाका शाखा प्रबन्धक सुरज बयलकोटीले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई झोला वितरण गरिनुले दैनिक पठनपाठनमा सहजता हुने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू बैंकले अझै प्रभावकारीरूपमा सञ्चालन गर्ने जानकारी दिए ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब ६ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।