न्युयोर्क । म्याकडोनाल्ड्स र स्टारबक्सले आफ्ना रुसी रेष्टुराँ र क्याफे बन्द गर्ने भएका छन् । त्यस्तै कोका–कोलाले पनि रुसमा सेवा सञ्चालन निलम्बन गर्ने घोषणा गरेको छ ।
रुसले युक्रेनमाथि गरिरहेको सैन्य आक्रमणको विरोधमा उनीहरुले यस्तो निर्णय लिएको जनाएका छन् । पेप्सिकोले पनि केही उत्पादन रुसबाट निकाल्ने भएको छ । अन्य पश्चिमा बहुराष्ट्रिय कम्पनीहरुले पनि यसअघि नै रुसमा सेवा दिन इन्कार गरिसकेका छन् । यी कम्पनीहरुमाथि पनि सोही निर्णय लिन दबाब भएपछि कम्पनीहरुले पछिल्लो निर्णय लिएको सीएनएनले जनाएको छ ।
न्युयोर्क राज्यको नियन्त्रक थोमस डिनापोलीले रुसमा व्यवसाय नगर्न कम्पनीहरुलाई दबाब दिँदै आएको थियो । रुसमा आठ सय ४७ स्थानमा म्याकडोनाल्डको व्यवसाय छ । ८४ प्रतिशत स्थानमा म्याकडोनाल्ड आफैँले रुसमा व्यवसाय गरिरहेको छ । कम्पनीले युक्रेनका एक सय आठ स्थानमा पनि व्यवसाय गर्छ । युक्रेनमा कम्पनी आफैँले व्यवसाय गरिरहेको छ । जहाँबाट कम्पनीलाई नौ प्रतिशत राजस्व आउँछ । रुसमा कम्पपनीले ६२ हजार मानिसलाई रोजगारी दिएको बताएको छ ।
यता मंगलबार नै कफी सेवा प्रदायक स्टारब्कसले रुसमा सबै व्यावसायिक गतिविधि निलम्बन गरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत केभिन जोन्सनले आफ्ना कर्मचारीलाई उक्त जानकारी गराएका हुन् । यी कम्पनीबाहेक डानोन र युनिलिभरले पनि यही किसिमका निर्णय लिएका छन् ।