काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघको १५औँ साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष इच्छाबहादुर वाग्लेको सभापतित्वमा बुधबार एल्लो प्यागोडा होटेल, जमल, काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।
सभामा अध्यक्ष वाग्लेले सरकारले कित्ताकाट फुकुवा गर्नुपर्ने, सहरी विकास विधेयकलाई अन्तिम रुप दिई ऐनको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, हाउजिङ्ग प्लानिङको प्रक्रिया सहज बनाउनुपर्ने बताए । यस्तै उनले संघका सदस्यहरुले संघको आर्थिक सुदृढीकरणका लागि सक्दो योगदान गर्नुपर्ने उल्लेख गरे । संघले काठमाडौं उपत्यकाबाहिर पनि व्यवस्थित सहरीकरणका आयोजना सञ्चालन गर्नुपर्ने तथा नेपाल राज्यभर रियल इस्टेट उद्योगको विकासका लागि एउटा छाता संगठनको रुपमा महासंघ गठन गर्नुपर्ने कुरामा जोड दिँदै आएको उनको भनाइ थियो । यी कार्यहरुका लागि सम्बन्धित सरकारी निकायहरुसँग निरन्तर रुपमा सम्वाद तथा अन्तक्र्रिया गर्ने उनले बताए । त्यस्तै उनले सदस्यहरुबीच आपसी सहयोग, समन्वय, सद्भाव, एकता एवं मैत्रीभाव कायम राखी रियल इस्टेट उद्योगको विकासमा एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याए । सभामा संघका उपाध्यक्ष त्रय विदुर धमला, दीपक कुँवर एवं भेषराज लोहनी, निवर्तमान अध्यक्ष मीनमान श्रेष्ठ र संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठले संघको सुदृढीकरण तथा रियल इस्टेट उद्योगको प्रवद्र्धन सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।
साधारणसभामा संघको कार्य समितिका पूर्वपदाधिकारी तथा सदस्यहरु, संघका संस्थापक, आजीवन तथा साधारण सदस्यहरुलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । सभाले महासचिव पुरुषोत्तम पौडेलले पेश गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तुलसीप्रसाद अधिकारीद्वारा प्रस्तुत आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन पारित गर्दै संघ समेतको पहलमा नेपाल जग्गा तथा आवास विकास महासंघ गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।