काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई रकम सहयोग गरेको छ । बैंकले बिहीबारका दिन बाँसबारी, काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सामाजिक उत्तरदायित्वअन्तर्गत १५ लाख रूपैयाँ आर्थिक सहयोग गरेको हो ।
सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । बैंकबाट प्राप्त उक्त रकम सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सर्जिकल वार्ड विस्तार गरी बेडहरू थप गर्नको लागि उपयोग गर्नेछ । उक्त सहयोगबाट अस्पतालका मुटुरोगी बिरामीहरूलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पूर्वाधार र सुरक्षाजस्ता क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य लिएको लिएको जानकारी दिएको छ ।