काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले भीमसेनगोलामा शाखा विस्तार गरेको छ । ग्राहकवर्गमाझ आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबारबाट काठमाडौँको भीमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ । सञ्चालक समिति सदस्य प्राडा गीता प्रधानले बैंकको एक सय २९औँ शाखाकोे उद्घाटन गरी सेवा शुभारम्भ गरेको बैंकले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक मनबहादुर राई, सुनिल न्यौपाने, कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक व्यवस्थापन समूह, स्थानीयवासीहरूको उपस्थिति थियो । भीमसेनगोला शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २६ पुगेको छ । देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकको कुल शाखा संख्या एक सय २९ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २६ शाखारहित बैंकिङ र एक सय १३ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।