काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोरा ठेकेदार अनुप पाण्डे ठगीको आरोपमा काँडाघारीबाट पक्राउ परेका छन् । तुलसीपुर घोराही चार लेन सडक निर्माणको ठेकेदार पाण्डेले विभिन्न व्यक्तिहरुसँग सात करोड रुपैयाँभन्दा बढी रकम ठगेको आरोप लागेको छ । त्यही उजुरीको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शनिबार बिहान लुकीछिपी बसेको अवस्थामा काँडाघारीबाट पक्राउ गरेर दाङ पठाउनलागेको हो ।
सीआईबीका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दाका फरार प्रतिवादी पाण्डे दाङ तुलसीपुर उपमहानगरपालिका–८ अश्वारमा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय दाङ घोराहीमा बैंकिङ कसुर मुद्दा दर्ता भई उच्च अदालत तुलसीपुरबाट २०७८ फागुन २५ गते पक्राउ अनुमति जारी भएको तथा इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिबाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका पाण्डेले पीडितको सवारीसाधन प्रयोग गरी सवारीसाधनको भाडाबापतको रकम एक करोड ४४ लाख १७ हजार सात सय ७६ रूपैयाँमध्ये सानिमा बैंकको पर्याप्त मौज्दात नभएको चेकमार्फत एक करोड आठ लाख ५७ हजार सात सय ७६ रूपैयाँ रकम भएको चेक दिई बैंकिङ कसुर गरेको अनुसन्धानबाट खुलेको छ ।