काठमाडौं । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यान्वयन इकाइ जनकपुर कार्यालयको कामप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी सुरु गरेको छ । जनकपुर कार्यालयका प्रमुख उपसचिव रामबालक यादवको विषयमा आर्थिक दैनिकमा समाचार प्रकाशित भएपछि अख्तियारले निगरानी गरेको हो ।
कार्यालय प्रमुखजस्तो आफ्नो महत्वपूर्ण भूमिकालाई बिर्सेर वनमन्त्री रामसहाय प्रसाद यादवको निजी सचिवको भूमिकामा रहेर कार्य गरी सहायक भूसंरक्षण अधिकृत काशीराम यादवलाई मौखिक रुपमा निमित्तको जिम्मेवारी दिएर नातामा दाजुभाइ पर्ने वनमन्त्री यादवसँग अघिपछि लागेर हिँड्ने गरेको विषयमा समाचार प्रकाशित भएपछि अख्तियारले यस कार्यालयमा निगरानी बढाएको हो । मौखिक रुपमा निमित्तको जिम्मेवारी पाएका काशीराम यादवले कार्यालयमा सेटिङको भरमा ठेक्का दिने तथा आफ्ना नातेदारहरुलाई नयाँ कर्मचारीको रुपमा नियुक्त गर्दै पुराना तथा आफूलाई सहयोग नगर्ने कर्मचारीहरुलाई भूमिकाविहीन बनाउन थालेपछि उनको कामप्रति अख्तियारले चासो दिएको हो ।
महत्वपूर्ण कार्यालयमा वनमन्त्री यादवकै संरक्षणमा सेटिङको मात्रै काम भइरहेको विषयमा समाचारहरु लगातार आएपछि अख्तियारले समाचारमा आएका विषयहरुमा के भएको हो भनेर फागुन ४ गते पत्र काटेको हो । सो पत्रको फागुन २४ गते जवाफ फकाउँदै कार्यालयले यस सम्बन्धमा समाचारमा आएजस्तो नभएको बताएको थियो ।
कार्यालय स्रोतका अनुसार अघोषित निमित्तको जिम्मेवारीपश्चात् काशीराम यादवले न्यूनतम मापदण्डसमेत पूरा नगरी नियुक्त गरेका उनकै सहोदर दाइ सब–इन्जिनियर महावीर यादवको शैक्षिक योग्यता समते शंकास्पद रहेको छ । तर भाइ काशिराम अघोषित कार्यालय प्रमुख भएकै कारण सो विषयमा कसैले प्रश्न गर्नसकेका छैनन् । महावीर सो कार्यालयमा नियुक्त पाउनु पहिले ससाना पेटी ठेकेदारको रुपमा परिचित थिए । भाइको बोलवाला रहेको कार्यालयमा ठेक्कापट्टा गर्नका लागि आएका उनी सोही कार्यालयका सबइन्जिनियर भएका थिए । सरकारी दरबन्दीका सबइन्जिनियरलाई लखेटेर आफन्तलाई भर्ती गरेको कुरा बोर्डमा पनि उठेको थियो ।
यता कार्यालयको प्रमुख रामबालकको काम गर्ने शैली भने विचित्रको रहेको छ । छ जिल्ला हेर्ने जिम्मेवारी पाएर मंसिर १७ गते जनकपुरको कार्यालयमा हाजिर भएका रामबालक त्यसपछि चार दिन हाजिर गरी मंसिर २१ देखि पुुस १० गतेसम्म काजमा मन्त्रीको पीएको रुपमा काठमाडौं बसी पुन पुस १० र ११ गते जनकपुरमा रहेको कार्यालयमा हाजिर गरी पुस १३ देखि माघ ९ गतेसम्म लगातार २७ दिन पुन मन्त्रीको पीए भएर काठमाडौं बसेका थिए ।
रामबालक पुन माघ २१ गते काठमाडौंमा मन्त्रीको पीए हुन आएर फागुन २ गतेसम्म बसेर गएका थिए । फागुनमा मुस्किलले सात दिन पनि कार्यालय नबसेका रामबालक एक हप्ताभन्दा बढी काजमा जाँदा प्रमुख जिल्ला अधिकारीलाई कहाँ किन जानलागेको सम्पूर्ण जानकारी दिनुपर्ने भए पनि मन्त्रीको काका पर्ने भएकै कारण केही जानकारी नदिई हिँड्ने गरेका छन् । रामबालक जनकपुर काठमाडौं आउने जाने पटक–पटक गर्दा हुने खर्च राज्यको ढुकुटीबाट हुने गरेको छ । यस्तो अनावश्यक हिसाबले काठमाडौंमा महिनौँ हाकिम बस्दा कार्यालयको वर्षभरिलाई छुट्याइएको अनुगमन लगायतको बजेट चार महिनामा नै सकिसकेको छ ।
रामबालक काठमाडौंमा होटलमा बस्दा, ट्याक्सी भाडा, खाएको बिलसमेत जनकपुर कार्यालयबाट भर्ने गरेका छन् । रामबालकको यस्तो व्यवहार कार्यालयका अन्य कर्मचारीहरुले समेत गर्ने गरेका छन् । विदामा घर गएर आउँदा समेत कार्यालयका कर्मचारीहरुले काजबापत भनेर अतिरिक्त पैसा लिने गरेका छन् ।
वनमन्त्री यादवको काका भएकै कारण सचिव तथा सम्बन्धित विभागका महानिर्देशक समेत यस्तो कार्य रोक्न निरीह देखिएका छन् । यस विषयमा बोर्डमा समेत प्रश्न उठे पनि वनमन्त्री यादवको कारण यस्तो कार्य रोक्न निकै निरीह बन्दै आएका छन् । वनमन्त्री यादवले रामबालककै योजना अनुसार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीहरु सबैलाई हटाएका थिए तर सर्वोच्च अदालतले उक्त हटाउने निर्णय असंवैधानिक भन्दै पुनर्बहाली गरेको थियो ।
कार्यालयको कार्यप्रगति सन्तोषजनक नभएको भनी बोर्डमा पटक–पटक कुरो उठे पनि मन्त्रीको काका रामबालक कार्यालय प्रमुख भएकै कारण कुनै कारबाही प्रक्रिया अगाडि नबढेको हो । यसअघि पनि सो कार्यालयमा तोकिएको क्षेत्रफलभन्दा ज्यादै न्यून क्षेत्रफलमा वृक्षरोपण गरी ठूलो रकम भ्रष्टाचार गरेको विषयमा बाराका वन कर्मचारीहरु्रमाथि अख्तियारले केही दिनअघि मात्र मुद्दा चलाएको थियो । वृक्षरोपणको सम्बन्धमा जनकपुरका कार्यालयले गत वर्ष गरेको वृक्षरोपणको विवरण हेर्ने हो भने फिल्डमा वृक्षरोपण भएको नमूना समेत नभेटिने अवस्था छ ।