काठमाडौं । विदेशिएका नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघको विभाजनमा सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तानिएका छन् ।
एनआरएनएको अध्यक्ष कुमार पन्तको नेतृत्वमा रहेको कार्यसमितिको गत अक्टोबर २०२१ मा नै कार्यकाल सकिएको हो र त्यसअघि नै एनआरएनएको नयाँ नेतृत्व चुनिनुपर्ने थियो । तर एमालेसमर्थित कुमार पन्त र सत्ता गठबन्धनसमर्थित कुल आचार्यको आपसी विवादका कारण महाधिवेशन सम्पन्न हुने मिति सर्दै आएको थियो । पछिल्लोपटक गत शुक्रबारसम्म उम्मेदवारी दिने समय तोकिएको थियो र यही मार्च २४ र २५ तारिखमा अनलाइन भोटिङ हुने भनिएको छ । तर यो समूहले तयार गरेको निर्वाचन प्रक्रियालाई बिथोल्न सत्ता गठबन्धनसमर्थित आचार्य खेमाले परराष्ट्र मन्त्रालयको हस्तक्षेप गराउनेदेखि अदालतको प्रयोगसमेत गरिसकेको छ र त्यतिले पनि नपुगेर शुक्रबार संघका पूर्वअध्यक्ष शेष घलेलाई अघि सारेर छुट्टै निर्वाचन तालिका सार्वजनिक गरिएको छ । संस्थापन पक्षले चाहिँ शुक्रबारदेखि ५३ पदको लागि निर्वाचन प्रक्रिया अघि बढाएको छ । यसअघि संघलाई विभाजित हुन नदिन अध्यक्ष पन्त, उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मालगायतको टोलीले असन्तुष्ट समूहको कुल आचार्यको वार्ताले पनि ठोस परिणाम दिनसकेको थिएन ।
दशौँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि संघका संरक्षणसमेत रहेका पूर्वअध्यक्ष घलेले शुक्रबार निर्वाचन तालिका र आयोजक समिति परिवर्तन गरेको घोषणा गरेपछि एनआरएनए विभाजनको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको अवस्थामा पुगेको छ । घलेले शुक्रबार सोनाम लामाको संयोजकत्वमा मन केसीसहितको आयोजक समिति र विश्व बरालको संयोजकत्वमा इन्द्र वन, वासुदेव फुलारा, डम्बर घले, पुष्प थापा, विमला सुवेदी र प्रकाश धमला रहेको निर्वाचन समिति घोषणा गरेका छन्, जबकि भीमसेन बन्जाराको नेतृत्वमा गठित निर्वाचन समितिले शुक्रबारअघि नै निर्वाचनको प्रक्रिया सुरु गरिसकेको थियो ।
यसैबीच, नेकपा (माओवादी केन्द्र)को प्रवास समन्वय समितिले गत २४ गते आफू मातहतका कमिटीहरुलाई सर्कुलर गरेको ६ बुँदे परिपत्रमा अध्यक्ष प्रचण्डको नाम जोडेर उनलाई नै विवादको केन्द्रविन्दु बनाउने काम गरेको छ । प्रवास समितिका अध्यक्ष ओम शर्माद्वारा जारी उक्त सर्कुलरको छैठौँ बुँदामा ‘यही फागुन २३ गते नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा समेत एनआरएनएको विषय उठेकाले प्रतिगमनका विरुद्ध बनेको गठबन्धनभन्दा बाहिर दायाँबायाँ गर्ने कसैलाई छुट नभएको कुरा अध्यक्ष कमरेड प्रचण्डबाट निर्देशन भएको जानकारी समेत गराइन्छ’ भनिएको छ र आफ्नै जिम्मेवारी प्रचण्डको टाउकोमा थोपरेर उम्किने प्रयास गरिएको छ ।
अध्यक्ष प्रचण्डकै नाम बेचेर दायाँबायाँ गरे जो कसैलाई कारबाही गर्ने धम्की दिएर एनआरएनएको घोषित निर्वाचन बहिष्कार गर्न कडा निर्देशन दिँदा पनि विद्रोह गरेर शुक्रबारसम्म माओवादी केन्द्रप्रति आस्था राख्ने ११ जना नेपाली कांग्रेसनिकट २३ जना, माधव कुमार नेपालको समाजवादीनिकट चार जना र जनता समाजवादी पार्टीनिकट एक जनाले उम्मेदवारी दिएका छन्, यसबाहेक एमालेनिकट ११ जना, राप्रपानिकट एक जना र एक जना स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डको नाम दिएर बहिष्कार गर्न गरिएको उर्दी अस्वीकार गर्दै अध्यक्ष पदमा रविना थापा र बद्री केसीले उम्मेदवारी दिएका छन् । त्यसैगरी उपाध्यक्ष पदमा यासमिन बेगम, डीबी क्षेत्री, रोशन थापा, धर्मराज अधिकारी, डा. हेमराज शर्मा, राजेन्द्र कुमार शर्मा र टंकप्रसाद गौरेले उम्मेदवारी दिएका छन् भने महासचिवमा गौरीराम जोशी र विनय अधिकारीले उम्मेदवारी दिएका छन् । त्यस्तै सचिवमा राधिका गुरुङ, रामशरण सिम्खडा, अजीव गुरुङ, चिरञ्जीवी घिमिरे, शंकर खड्का र अभिमानसिंह बस्नेतले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा लोकप्रसाद दाहाल र फणीन्द्र पन्तको उम्मेदवारी परेको छ । त्यस्तै सहकोषाध्यक्षमा यमुना भट्टराई र यज्ञराज सुवेदीले उम्मेदवारी दिएका छन् ।
महिला संयोजकमा संगीता मरहठ्ठा, युवा संयोजकमा रवीन्द्र खड्का, क्षेत्रीय संयोजकमा राजेन्द्र अर्याल, पारसमणि पोखरेल, सन्तोषकुमार भट्टराई, लालबहादुर केसी, दीपक शर्मा, दिनेशराज जोशी, प्रकाश सापकोटा र राजकुमार थापाले उम्मेदवारी दिएका छन् । त्यसैगरी क्षेत्रीय उपसंयोजकमा ललितकुमार न्यौपाने, डा.नवराज रोस्यारा, दबिल खड्का, नवीन विक, सागर सुवेदी, अभिमन्यु बस्नेत, लालप्रसाद पुन, पुरुषोत्तम बोहोरा, अमित राई, रामप्रसाद पन्त, हरिप्रसाद भट्टराई, कृष्णबहादुर हमाल, चित्रप्रसाद सुवेदी, अशोक केसी र रामराज ओली उम्मेदवार बनेका छन् ।
त्यस्तै क्षेत्रीय महिला संयोजकमा तृष्णा शर्मा, पानकुमारी मल्ल, शान्तिदेवी अधिकारी र उषाकिरण बरियाले उम्मेदवारी दिएका छन् भने क्षेत्रीय युवा संयोजकमा किरण गुरुङ, स्वराज खाती, दीपक प्रसाद कँडेल, रोजनराज घिमिरे र प्रदीप रुपाखेतीले उम्मेदवारी दिएका छन् । क्षेत्रीय महिला उपसंयोजकमा इन्दिरा त्रिपाठी र डा.इन्दिरा तिवारी उम्मेदवार बनेका छन् । त्यस्तै क्षेत्रीय युवा उपसंयोजकमा रोबोट लिम्बू र ईश्वर खत्रीले उम्मेदवारी दिएका छन् । (आर्थिक दैनिकबाट)