विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीले महँगी बढ्नुको मूल कारण रुस र युक्रेनबीचको द्वन्द्व रहेको बताएको छन् । दुई देशको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको अत्याधिक मूल्य वृद्धि भएपछि महँगी बढ्न गएको उनीहरुको दाबी छ ।
मोरङ व्यापार संघले एक विज्ञप्ति जारी गरी आयातमा आधारित हाम्रो मुलुकमा भएको हालको मूल्यवृद्धिको कारक उद्योगी तथा व्यवसायीहरु नरहेको उल्लेख गरेको छ । रुस र युक्रेनबीचको द्वन्द्वबाट दैनिक उपभोग्य वस्तुलगायत निर्माण सामग्रीहरुको मूल्य आकाशिरहँदा त्यसको दोष उद्योगी तथा व्यवसायीहरुले नलिने संघले जनाएको छ ।
हालको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले ठूलो भूमिका निर्वाह गर्नसक्ने भन्दै संघले त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ । मूल्यवृद्धि नियन्त्रणका लागि बजेटमार्फत मात्र भन्सार महसुल निर्धारण गर्ने परिपाटीको अन्त्य गरी जुनसुँकै बेला भन्सार महसुल घटबढ गर्न सकिने व्यवस्था गनुपर्ने संघको भनाइ छ । यस्तै सरकारले खाद्य संस्थान, साल्ट टे«डिङ, नेसनल ट्रेडिङजस्ता सरकारी निकायमार्फत खाद्य वस्तुको व्यवस्थित व्यवस्थापन गर्न सकेमा मूल्यवृद्धि केही हदसम्म नियन्त्रणमा आउने बुझाइ व्यापार संघको छ । त्यसैगरी सरकारले खाद्यलगायत बढीभन्दा बढी सामानमा स्वदेशी आत्मनिर्भरता बढाउने नीति ल्याउन आवश्यक रहेको संघले जनाएको छ ।
यस्तै संघले स्वदेशी उद्योग र कृषकको संरक्षणका लागि ऋणमा अधिकतम पाँचदेखि सात प्रतिशत ब्याजदर कायम गरी बैंकले स्वदेशी उद्योग र कृषकलाई चाहिएजति ऋण सहुलियत दरमा दिने व्यवस्था गर्नुपर्ने माग गरेको छ । स्वदेशी उद्योगहरुको स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने तथा आयात प्रतिस्थापन गर्ने नीति सरकारले तुरुन्तै लागू गर्नुपर्ने व्यापार संघको सुझाव छ । यस प्रकारका द्वन्द्वका कारण बेलाबखत आइपर्ने समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकारले नेपाली उद्योगका लागि ५० प्रतिशत छुट र कृषकको लागि निःशुल्करुपमा विद्युत् उपलब्ध गराउने र खाद्य सामान, औद्योगिक कच्चापदार्थ र तयारी वस्तुहरुको ढुवानीको लागत घटाउन सरकारले हाल कायम रहेको करको दरहरु घटाउन संघको माग छ ।