काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन अर्थतन्त्रका सबै क्षेत्र मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । चितवन उद्योग वाणिज्य संघको ५५औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा उनले अहिले मुलुक विषम परिस्थितिमा रहेको बताएका हुन् ।
राज्य, निजी क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र कुनै एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने अवस्था अहिले नरहेको उनको भनाइ छ । कोभिड १९ को कारण तथा रुस र युक्रेनबीचको युद्धका कारण पेट्रोलियम, खाद्यान्नलगायत धेरै वस्तुको मूल्य बढेको र आउँदा दिन अझै कठिन हुने देखिएको उनले बताए । यस्तो अवस्थामा एउटा पक्षले अर्को पक्षलाई आरोप लगाउनुभन्दा पनि सबै मिलेर यो विषम परिस्थितिलाई पार लगाउनुपर्नेमा उनले जोड दिए । आफूभन्दा अगाडि बोल्ने निजी क्षेत्र, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय निकायका तर्फबाट उपस्थित प्रायः सबै वक्ताहरुको एउटै आवाज पाएको र सबैले स्थानीय विकास र पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका औँल्याएको बताउँदै ढकालले यदि स्थानीय बासिन्दा, राजनीतिक दल, निजी क्षेत्र सबैको समान बुझाइ भएमा चितवनलाई राम्रो पर्यटकीय स्थलहरुको रुपमा विकास गर्न सकिने दाबी गरे ।
छोटो समयमा पर्यटन पूर्वाधारको विकासबारे आफ्नो अनुभव सुनाउँदै उनले यदि स्थानीय व्यवसायीहरुले जिल्लामा रोजगारी बढाउने, स्थानीय साधन स्रोतको उपयोग गर्ने खालका व्यवसाय अगाडि बढाएमा आफूले निजी क्षेत्रको नेतृत्वको तर्फबाट मात्र नभई आईएमई समूहको अध्यक्ष एवं ग्लोबल आईएमई बैंकको अध्यक्षको रुपमा समेत सहकार्य र सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । निजी क्षेत्रको विकासमा चितवन उद्योग वाणिज्य संघले खेलेको भूमिकाको प्रशंसा गर्दै, उनले नयाँ आउने कार्यसमितिले पनि थप महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।