काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार पाँच सय ६६ दशमलव ९० विन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ९३ दशमलव ५३ विन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख २९ हजार आठ सय ७८ पटकको कारोबारमा दुई करोड १० लाख २५ हजार ८१ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम १० अर्ब २३ करोड ८३ लाख ६१ हजार सात सय ७८ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा केही कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय २८ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ५९ हजार तीन पटकको कारोबारमा दुई करोड २५ लाख २७ हजार छ सय ८२ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम १० अर्ब ५५ करोड ४३ लाख ९९ हजार सात सय ५७ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबारकक्ष चार कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो र चौथो दिन बजार परिसूचक ओरालो लागेको थियो भने दोस्रो र पाँचौँ कार्यदिन उकालो लागेको थियो । तेस्रो कार्यदिन भने सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो ।
जसअनुसार पहिलो दिन बजार परिसूचक तीन दशमलव ६६ अंकले ओरालो लागेर दुई हजार पाँच सय ४३ दशमलव ३९ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने एक दशमलव तीन अंंकले उकालो लागेर चार सय ९० दशमलव १३ विन्दुमा चढेको थियो । दोस्रो दिन भने बजार परिसूचक एक दशमलव ५५ अंकले उकालो लागेर दुई हजार पाँच सय ४४ दशमलव ९४ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४१ अंंकले उकालो लागेर चार सय ९२ दशमलव ५३ विन्दुमा चढेको थियो ।
तेस्रो दिन सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो भने चौथो कारोबार दिन बजार परिसूचक ३० दशमलव ३६ अंकले ओरालो लागेर दुई हजार पाँच सय १४ दशमलव ५८ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३५ अंंकले ओरालो लागेर चार सय ८७ दशमलव १९ विन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक ५२ दशमलव ३१ अंकले उकालो लागेर दुई हजार पाँच सय ६६ दशमलव ९० विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३४ अंंकले उकालो लागेर चार सय ९३ दशमलव ५३ विन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।