काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा बढाउनुुपर्ने माग गरेको छ । महासंघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी इन्धनमा भएको अत्यधिक मूल्यवृद्धिका कारण व्यवसायी मारमा परेको भन्दै जतिसक्दो चाँडो भाडा समायोजन गर्नुपर्ने माग गरेको हो ।
सरकारले भाडा समायोजन नगरे व्यवसायी आफैँले गर्ने महासंघले चेतावनी समेत दिएको छ । पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धि भएपछि यातायात व्यवसायीले भाडा वृद्धि गर्नुपर्ने माग गर्न बाध्यता भएको महासंघको भनाइ छ । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले पछिल्लो समय इन्धनमा भएको मूल्यवृद्धिको विरोध गर्दै आगामी चैत ७ गतेसम्म भाडा समायोजन नभएमा बाध्य भई वैज्ञानिक भाडा कार्यविधिलाई आधार मानी महासंघले नै भाडा समायोजन गर्ने बताए । उनले भने, ‘विसं २०७८ असारमा भाडा बढाएलगत्तै तीन दिनपछि फेरि पट्रोलियम पदार्थको मूल्य बढ्यो, त्यसयता सात पटक बढ्यो तर भाडा समायोजन भएको छैन । सरकारलाई सवारीसाधनको भाडा नबढाऔँ तर मूल्यवृद्धि फिर्ता गरौं भनेर हामीले पटक–पटक आग्रह गर्दै आएका छौँ, सुनुवाइ भएको छैन ।’
नेपाल ट्रक महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकार र सम्बन्धित निकायले भाडा समायोजनमा ध्यान नदिएमा व्यवसायीले नै वैज्ञानिक कार्यविधिका आधारमा भाडा समायोजन गर्नुपर्नेमा जोड दिए । नेपाल यातायात स्वतन्त्र यातायात मजदुर संगठनका वरिष्ठ उपाध्यक्ष नवराज घिमिरेले सरकारले प्रतिलिटर ५८ रूपैयाँ व्यवसायीसँग कर लिने गरेको बताए । त्यसमा लगाएको कर छुट दिएमा पनि व्यवसायीलाई केही सहज हुने उनको भनाइ थियो ।