काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन ३० गते अर्थात् आज सोमबार पुनः १० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही फागुन २३ गते पनि राष्ट्र बैंकले छ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति चैत १ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरी ९१ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ जेठ ३१ गते र २०७९ चैत ३० गते तोकिएका छन् ।
राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने यी ट्रेजरीहरुमा पुरानो नवीकरणअन्तर्गतको पाँच अर्ब र नयाँ पाँच अर्ब रुपैयाँको रहेको छ । यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको दुई अर्ब र ९१ दिने अवधिको आठ चार अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
यसैबीच, राष्ट्र बैंकले नागरिक बचतपत्र २०८३ ‘क’ (५ वर्षे) को बिक्री आह्वान गरेको छ । राष्ट्र बैंकका अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशत ब्याज तोकेर नागरिक बचतपत्र २०८३ ‘क’को बिक्री गर्न लागिएको हो ।
यही चैत १ गतेबाट खुल्ला हुने बचतपत्रको बिक्री कार्य चैत २० गतेसम्म कायम रहनेछ । राष्ट्र बैंकका अनुसार निष्काशन २०७८ चैत ३० तोकिएको बचतपत्रको सावाँ भुक्तानी मिति २०८३ चैत ३० गते तोकिएको छ । यो बचतपत्र धितो राखेर कर्जा लिन र दिन समेत सकिनेछ ।
राष्ट्र बैंकका अनुसार घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको सीमामा रहेर बचतपत्र खरिद गर्न सकिनेछ ।